free website hit counter

वीरगञ्जमा ३ भारतीय नागरिकमा कोरोना संक्रमण

beemaadmin
२०७६ चैत्र ३०, आईतवार

काठमाडौं । वीरगञ्जमा रहेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो । भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हो । वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।
संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् । सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए । लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् । घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैं नारायणी अस्पताल पुगेका थिए ।

सम्बन्धित समाचार