काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको बैठक आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को १ बमोजिम संघीय संसदको दुवै सदनको बैठक आगामी पुस ४ गतेका लागि आह्वान गर्नुभएको हो । मन्त्रिपरिषद्को सोमबार अबेर बसेको बैठकले पुस ४ गतेका लागि संसदको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरे बमोजिम राष्ट्रपतिबाट आज सो दिनका लागि संसद बैठक आह्वान भएको हो । संघीय संसदको दुवै बैठक पुस ४ गते ४ः०० बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका र निजले सभामुख पदबाट राजीनामा समेत दिइसकेको हुँदा संसदको आगामी बैठकले नयाँ सभामुख चयन गर्ने छ । सभामुख पद रिक्त भएको अवस्थामा संसदको बैठक कसले अध्यक्षता गर्ने भन्ने बारे संविधानले स्पष्ट परिकल्पना नगरेको हुँदा केहीले आगामी बैठकको अध्यक्षता दलीय सहमतिमा हुनुपर्ने बताएका छन् ।
संविधानको धारा ९१ को दफा ४ मा प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यवस्था भए पनि हालको अवस्था भने सभामुख अनुपस्थित नभई पद नै रिक्त भएको अवस्था हो । दफा ५ ले प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थिति सदस्यमध्ये उमेरका हिसावले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ । दफा ४ ले सभामुखको अनुपस्थितिमा उपसभामुखले अध्यक्षता गर्ने र ५ ले दुवै पद खाली भएको अवस्थामा जेष्ठ सदस्यले गर्ने व्यवस्था गरेको छ ।
यस सम्बन्धमा वरिष्ठ अधिवक्ता एवं संविधानविद् भीमार्जुन आचार्यले सभामुख निर्वाचित हुनुअघि संसदको बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्ने कुरामा संविधानमै स्पष्ट लेखिएको कारण प्रतिनिधिसभाको बैठकको अध्यक्षता सभामुख निर्वाचित नहुञ्जेलसम्मका लागि ज्येष्ठ सदस्यले नै गर्ने कुरामा द्विविधा नरहेको बताउनुभयो । यसो हुँदा प्रतिनिधिसभाको बैठकको अध्यक्षता जेष्ठ सदस्यको हैसियतले महन्त ठाकुरले गर्नुहुने छ ।
