काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्सले चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको रिपोर्टले कम्पनीको यात्रा निकै सुखद देखिएको छ । अघिल्लो वर्ष खुद बीमा शुल्क ७८ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले यस वर्ष त्यसलाई बढाएर १ अर्ब ७ करोड ३९ लाख ३७ हजार रुपैयाँ आर्जन गर्न सफल भएको सो कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले कूल बीमा शुल्क आर्जन दुई अर्ब २२ करोड ९६ लाख ७१ हजार रहेको छ । अघिल्लो वर्ष कम्पनीको कूल बीमा शुल्क आर्जन एक अर्ब १२ करोड ४५ लाख तीन हजार रुपैयाँ थियो ।
कम्पनीले जीवन बीमा कोषमा १ अर्ब २५ करोड ३२ लाख रुपैयाँ जम्मा गरेको छ । वर्षदिनमा कम्पनीले जीवन बीमा कोषमा दोब्बर भन्दा बढि रकम जम्मा गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा ६० करोड ३९ लाख रुपैयाँ जम्मा गरेको कम्पनीले यस वर्ष दोब्बर गर्न सफल भएको हो । त्यस्तै कम्पनीको जीवन बीमा शुल्क आर्जन समेत उल्लेख्य बृद्धि भएको छ ।
कम्पनीले समीक्षा अवधीमा ११ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीले १० करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ । कम्पनीको व्यवस्थापन खर्च केही बढेको छ । अघिल्लो वर्ष २३ करोड ८५ लाख व्यवस्थापन गरेको कम्पनीले यस वर्ष ३० करोड ८९ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । बीमा कम्पनीमा ४३ हजार २५६ वटा बीमा पोलिसी कायम छ । अघिल्लो वर्षको तुलनामा करिब पाँच हजार आठ सयले बढि हो ।
कम्पनीले गत आर्थिक वर्षमा ७२ लाख ३१ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । अघिल्लो वर्ष ३४ लाख छ हजार रुपैयाँ थियो । कम्पनीको बाँकी दावी भुक्तानी दुई लाख ९९ हजार रुपैयाँ छ ।