काठमाडौं । बीमा क्षेत्रलाई थप मर्यादित र व्यवस्थित बनाउने अभियानमा रहेको नियामक निकाय बीमा समितिको सक्रियता बढ्दै गएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई सबै प्रतिवेदनहरु तोकिएको मितिमा पेश गर्न निर्देशन दिएको छ । समितिले बुधबार निर्जीवन बीमा कम्पनीका परिपालन अधिकृत र सम्पत्ति सुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूसँग अन्तर्क्रिया कार्यक्रमा सो निर्देशन दिएको हो । कार्यक्रममा बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले समितिबाट उपलब्ध गराइएको ढाँचामा परिपालन प्रतिवेदन र एएमएल तथा सीएफटीसम्बन्धी प्रतिवेदन तोकिएको मितिमा समितिमा पेश गर्न निर्देशन दिएका हुन् ।
निर्देशक लालले परिपालन अधिकृतहरूले कम्पनीमा बीमा ऐन, नियम र समितिबाट जारी निर्देशिका, निर्देशन एवम् परिपत्र अनुरूप काम भएको छ छैन र समस्याहरू के के छन् भन्ने बारेमा तथ्यपरक ढङ्गले उल्लेख गरी समस्या समाधानको कार्ययोजना सहित परिपालन प्रतिवेदन पेश गर्नुपर्ने बताए । निर्देशक लालले बीमा क्षेत्रमा सम्पत्ती सुद्धीकरणको जोखिमलाई ध्यानमा राखेर पर्याप्त काम भएको नपाइएकाले त्यस्तो जोखिमलाई समेत विशेष ध्यान दिई एएमएल तथा सीएफटी सम्बन्धी प्रतिवेदन तयार गरी सम्बद्ध निकायमा समेत जानकारी दिन निर्देशन दिए । साथै, उनले एएमएल तथा सीएफटी सम्वेदनशील विषय भएकाले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
कार्यक्रममा बीमा समितिका नियमन शाखा प्रमुख एवम् उपनिर्देशक कुन्दन सापकोटाले परिपालन प्रतिवेदन सम्बन्धी प्रस्तुती गर्दै परिपालन प्रतिवेदनमा कम्पनीका काम कारवाहीका साथै कमी कमजोरी समेत प्रष्टसँग उल्लेख गर्न र संचालक समितिबाट स्वीकृत गरेर मात्र समितिमा पेश गर्न आग्रह गरे । यसैगरी, समितिका उपनिर्देशक ९कानून० हृदयश्वर पण्डितले एएमएल तथा सीएफटी सम्बन्धी प्रस्तुती गर्दै बीमा क्षेत्रमा सम्पत्ति सुद्धीकरणको जोखिमका आधारमा जोखिम विश्लेषण गर्न र शंकास्पद कारोवार पहिचान गरी सम्बद्ध निकायमा समेत जानकारी दिन आग्रह गरे ।