काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले साउन महिनाका लागि नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक दरअनुसार असारको तुलनामा साउनमा व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको औसत ब्याजदर घटेको छ।
व्यक्तिगत निक्षेपतर्फ बैंकहरूको औसत अधिकतम ब्याजदर असारको ४.२५८ प्रतिशतबाट घटेर साउनमा ४.१६७५ प्रतिशतमा झरेको छ। यस्तै, संस्थागत निक्षेपको औसत ब्याजदर पनि ३.१८ प्रतिशतबाट घटेर ३.११६ प्रतिशतमा सीमित भएको छ।
साउनका लागि राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.७५ प्रतिशत बिन्दु र संस्थागत निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले घटाएको छ।
त्यसैगरी, ग्लोबल आइएमई बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशत बिन्दुले घटाएर ४ प्रतिशत कायम गरेको छ।
यसैगरी,
समीक्षा अवधिमा नेपाल बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.२५ प्रतिशतमै स्थिर राखेको छ। तर, संस्थागत निक्षेपतर्फ भने १ प्रतिशत बिन्दुले वृद्धि गर्दै ४ प्रतिशत पुर्याएको छ।
नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंकसहित १३ वाणिज्य बैंकहरूले असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन्।
बैंकहरूले प्रत्येक महिनाको सुरुवातअघि नयाँ निक्षेप ब्याजदर सार्वजनिक गर्ने व्यवस्था अनुसार साउनका लागि पनि अद्यावधिक दर लागू गरेका हुन्। ब्याजदरमा आएको यो गिरावटले निक्षेपकर्ताको प्रतिफल केही घट्ने भए पनि बैंकहरूको लागत व्यवस्थापनमा भने राहत पुग्ने अपेक्षा गरिएको छ।