काठमाडौँ । नेपालीहरूको महान् चाड दशैँ नजिकिँदै गर्दा यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै साझा यातायात सहकारी संस्था लिमिटेडले विशेष बस सेवा सञ्चालन गरेको छ । चाडपर्वको अवसरमा घर फर्किने तथा बाहिर जाने यात्रुहरूलाई लक्षित गरी यो सेवा सुरु गरिएको हो। संस्थाले एक सूचना जारी गर्दै यही असोज ७ गतेदेखि कोजाग्रत पूर्णिमासम्म नारायणगढका लागि बस सेवा सुरु गर्ने जानकारी दिएको हो। यसले विशेषगरी नारायणगढ र त्यस आसपासका क्षेत्रमा जान चाहने यात्रुहरूका लागि निकै राहत पुग्ने अपेक्षा गरिएको छ। साझा यातायातले यात्रुहरूलाई सस्तो र भरपर्दो यात्रा गराउने उद्देश्यले यो पहल गरेको हो। यस अन्तर्गत, बसहरू बिहान ७ बजेदेखि प्रत्येक एक घण्टाको फरकमा कलंकी बसपार्कबाट प्रस्थान गर्नेछन्। यो सेवा बिहान ७ बजे, ८ बजे, ९ बजे, १० बजे, ११ बजे र १२ बजेसम्म सञ्चालन हुनेछ। यात्रा गर्ने यात्रुहरूले एकतर्फी भाडाको रूपमा ३०० रुपैयाँ बुझाउनुपर्नेछ र अनिवार्य रूपमा साझा यातायातको टिकट लिनुपर्ने व्यवस्था गरिएको छ। सञ्चालकहरूले सिटमा मात्र बस्न पाउने र उभिएर वा मुडामा बसेर यात्रा गर्न नपाइने कुरामा जोड दिएका छन्। टिकट बिना यात्रा गर्ने यात्रुहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने संस्थाले स्पष्ट पारेको छ। टिकटको विषयमा कुनै समस्या वा गुनासो भएमा सम्बन्धित निकायमा जानकारी गराउन सकिनेछ।