काठमाडौं । पटक पटक प्राकृतिक विपत्तिको सामना गरिरहेको सिन्धुपाल्चोकले अर्को विपत्ति झेलेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा १८ घर पहिरोमा पुरिएका छन् । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालकाअनुसार क्षतिको एकिन विवरण नआइनसकेको भए पनि उद्दारका लागि घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिएका छन् । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताए । गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो । बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ । सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।
सभामुख सापकोटा पहिरो प्रभावित क्षेतर्फ
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् । उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन् । सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेकाअनुसार पहिरोले घुम्थाङको नागपुजे र भीरखर्कमा क्षति पुगेको जानकारी बिहान ४ बजे आउनासाथ सभामुख सापकोटा स्थलमार्गहुँदै त्यसतर्फ लाग्नुभएको हो ।
उनका अनुसार मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ । गएरातिको वर्षाका कारण पहिरो जाँदा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजे, भीरखर्कलगायतका स्थानमा पहिरो जाँदा १६ जना बेपत्ता भएका र एक जनाको शव फेला परेको स्थानीयले बताएका छन् ।