काठमाडौं । आफूले उत्पादन गरेको उखु प्रशोधन गरेर बेचिसकेका कम्पनीले दिनुपर्ने पैसा पाउन राधाजनीमै आएर आन्दोलन गर्न बाध्य किसान फेरि पनि ठगिएका छन् । सरकारसँग उखु किसानको पैसा चुक्ता गर्ने सम्झौता गरेका सुगर मिल्सका सञ्चालकहरुले सम्झौताको समय सीमा सकिँदा पनि किसानको मूल्य चुक्ता गरेका छैनन् । अझै उद्योगीहरु भाग्ने बाटो खोज्दैछन् । समय सीमा सकिँदा उनीहरू सम्पर्कमा आउनुको सट्टा बेपत्ता भएपछि सरकारले उनीहरुको कारोबार रोक्का गरेको हो ।
सरकारले तीन वटा सुगर मिल्सको बैंक खाता रोक्का गरेको छ । बुधबार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उखु किसानको रकम भुक्तानी नगर्ने तीन सुगर मिल्सको बैंक खातामा कारोबार गर्न रोक्का गरेको जनाएको छ ।
सरकारले अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सको कारोबार रोकेको हो । उनीहरुको कारोबार रोक्का गर्न आन्तरिक राजस्वलाई पत्र काटिसकेको छ भने उनीहरुलाई सम्पर्कमा ल्याउन गृहमन्त्रालयलाई पत्र पठाउने तयारी थालेको छ । उनीहरूले बैंकको खाताबाट किसानलाई रकम भुक्तानी गर्न बाहेका काम गर्न नपाउने जनाइएको छ ।
मन्त्रालयले उनीहरुको कारोबार रोक्का गर्न बैंकलाई समेत पत्र पठाइ सकेको र उखु किसानको रकम भुक्तानी नगरेसम्म सबै आर्थिक कारोबार रोक्न गर्न पत्राचार गरिएको बताइन्छ ।
अझै ४२ करोड किसानको बक्यौता रहेको पाइएपछि मन्त्रालयले नेपाल विद्युत प्राधिकरणबाट पाउनु पर्ने रकम पनि रोक्का गर्न भनेको जनाइएको छ । यस्तै नवलपरासीमा रहेको लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ ।
मन्त्रालयकाअनुसार महालक्ष्मी चिनी मिलले २१ करोड ४० लाख, एभरेष्टले झण्डै ८ करोड, बाग्मती खाँडसारीले ८ करोड ४१ लाख रकम भुक्तानी गर्न बाँकी छ ।
अन्नपूर्ण सुगर मिल्सले ४२ करोड रकम बक्यौता गर्नु पर्नेमा हालसम्म ३ करोड ९० लाख भुक्तानी गरेको छ । इन्दिरा सुगर मिल्सले ७४ लाख भुक्तानी गर्न बाँकी छ भने एभरेष्टले करिब ८ अर्ब भुक्तान गर्नु पर्ने थियो ।