काठमाडौं । भदौ २१ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि गत भदौ १३ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको हो। सो दिनको मूल्यभन्दा यस दिनको मूल्य १०० रुपैयाँ बढी हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार भने यस्तो सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य पनि बढेको छ। संघका अनुसार यस दिन चाँदी प्रतितोला ३० रुपैयाँ बढेर १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ।