काठमाडौं । सुनको मूल्य पछिल्लो ९ महिनायताकै उच्च रहेको छ । पुष २० गते, बुधबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ । यो पछिल्लो रेकर्डस्तर भन्दा २ हजार ६०० रुपैयाँले मात्र कम हो । यस अघि २०७८ फागुन २५ गते, सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो । सो समयमा सुन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २ हजार ९०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुनको मूल्य पनि महंगिएर एक लाख २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, २०२२ को मार्च १३ अथवा २०७८ चैत ९ मा सुन प्रतितोला एक लाख २ हजार ८०० रूपैयाँमा खरिदबिक्री भएको थियो । मंगलबार पनि सुन महंगिदा यस वर्षकै उच्च कारोबार मूल्य तोकिएको थियो । हिजो सुन तोलामा ९०० रुपैयाँले उकालो लागेर प्रतितोला एक लाख २ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । बुधबार चाँदीको भाउ भने सस्तिएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले गिरावट हुँदा प्रतितोला एक हजार ४०० रुपैयाँमा झरेको छ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १० रुपैयाँले महंगिएर एक हजार ४१० रुपैयाँमा किनबेच भएको थियो ।
विश्व बजारमा पनि सुनको भाउ दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको छ । बिहीबार पनि सो बजारमा सुन करिब ७ डलरले बढेर प्रति अउन्स एक हजार ८४६ डलरमा कारोबार भइरहेको छ । या सुनको पछिल्लो ६ महिनायताकै उच्च मूल्य हो । एक महिनामा सुन प्रति अउन्स ७७।५० डलरले बढिसकेको छ । यसैगरी, एक वर्षमा ३२।५० डलरले महंगिएको छ ।