free website hit counter

सुन सस्तिनुको के हो कारण ?

beemaadmin
२०८० आश्विन २०, शनिबार

काठमाडौं । सधैं उचाइतिर अघि बढ्ने सुनको मूल्य यो साता लगातार ओर्लियो । अमेरिकी डलरको विनिमय दरमा देखिएको उकालो यात्रा भने यस साता रोकिएको छ । अमेरिकी बजारमा सुनको बिक्री कायमै रहँदा यो साता पनि विश्व बजारमा सुनको मुल्यमा गिरावट आएको छ । विश्व बजारमा सुनको सेलिङ प्रेसर घट्ने क्रममा रहेको देखिएकोले आगाम दिनमा भने गिरावटको क्रम रोकिन सक्ने तर्क विश्लेषकहरुले गरेका छन्। विगत लामो समयदेखि निरन्तर मजवुत बन्दै गएको अमेरिकी डलरको विनिमय दर भने यो साता केही कमजोर बनेको छ । अमेरिकी डलरको विनिमय दर थप कमजोर वन्दै गएको खण्डमा त्यसको प्रभाव सुन बजारमा देखिन सक्ने अनुमान बिश्लेषकहरुले गरेका छन्।
नेपाली बजारमा यो साता सुन तोलामा ७०० रूपैयाँले गिरावट भएको छ । आइतबार सुन प्रतितोला एक लाख ८ हजार रूपैयाँ तोकिएको थियो । अर्थात् साताको पहिलो दिन प्रति १० ग्राम ९२ हजार ५ सय ९५ रुपैयाँ रहेको थियो । साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुनको मुल्य प्रतितोला एक लाख ७ हजार ३०० रूपैयाँ अर्थात् प्रति १० ग्राम ९१ हजार ९ सय ९० रुपैयाँमा झर्यो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम ६ सय ५ रुपैयाँले कम हो । साताभरी जसो सुनको मूल्यमा घटबढ भइरह्यो । यसैगरी, साताभरमा चाँदीको भाउ पनि गिरावट भएको छ । यो साता नेपाली बजारमा चाँदीको मुल्यमा पनि कमी आएको महासंघले जनाएको छ । साताको पहिलो दिन एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतितोला एक हजार ३१० रुपैयाँमा झरेको छ । चाँदीको भाउ सोमबार र मंगलबार सस्तिएको थियो भने त्यसयता स्थिर रहेको छ ।

सम्बन्धित समाचार