काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीराम गौतमले कार्यव्यस्तताको कारण देखाउँदै राजीनामा दिएका छन् ।
व्यक्तिगत कार्य व्यस्तताको कारण बैंकमा रही निरन्तर कार्य गर्न असमर्थ रहेको जनाउँदै असार २० गते बैंक संचालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदबाट गौतमले राजीनामा पेश गरेका हुन् । उक्त राजीनामा पत्र संचालक समितिमा विचाराधीन अवस्थामा रहेको बैंकले जनाएको छ । २०७५ वैशाख १९ गतेबाट सेन्चुरी कमर्सियल बैङ्कको सीईओको जिम्मेवारी सम्हालेका गौतम बैंकिङ्ग क्षेत्रमा जोखिम व्यवस्थापन र कर्जा लगानीका विज्ञका रुपमा चिनिन्छन् । बैंकिङ्गमा ३८ वर्ष बिताइसकेका गौतमले १३ वर्ष नेपाल बैंकमा बिताएका थिए । त्यसपछि एनआईबीमा ७ वर्ष काम गरे । नेपाल एसबीआई बैंकमा १० वर्ष काम गरेका गौतम माछापुच्छ्रे बैङ्कमा ४ वर्ष सीईओको कार्यकाल सफलतापूर्वक सम्हाले ।