काठमाडौं । बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका कवि फुयाँल हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नेतृत्वमा पुगेका छन् । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदबाट राजीनामा दिएका फुयाँल हिमालयन लाइफको सिनियर डेपुटी सीईओमा नियुक्त भएका हुन् ।
कम्पनीले फुयाँललाई सिनियर डेपुटी सीईओसँगै कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारीसमेत दिएको छ । कम्पनीको सञ्चालक समितिको ७९औँ बैठकले उनलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । उक्त निर्णयअनुसार फुयाँलले असोज १३ गतेदेखि लागू हुने गरी जिम्मेवारी सम्हाल्नेछन् ।
कम्पनीको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्म फुयाँलले कार्यवाहक सीईओका रूपमा काम गर्नेछन् । कानुनी प्रक्रियासम्बन्धी केही कारणले तत्काल पूर्ण रूपमा सीईओको जिम्मेवारी दिन नसकिएको भए पनि उनलाई कम्पनीको भावी नेतृत्वका रूपमा हेरिएको बताइएको छ ।
बीमा क्षेत्रमा व्यवसाय विस्तार, बजार रणनीति, कर्मचारी तथा अभिकर्ताको क्षमता विकास र संस्थागत व्यवस्थापनमा अनुभव हासिल गरेका फुयाँल विभिन्न वित्तीय तथा बीमा संस्थामा काम गरिसकेका अनुभवी व्यवस्थापक हुन् ।
उनले आफ्नो व्यावसायिक यात्रा लक्ष्मी बैंकबाट सुरु गरेका थिए । त्यसपछि राष्ट्रिय बीमा संस्थान, प्राइम लाइफ, सूर्या लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ हुँदै सन नेपाल लाइफसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् ।
फुयाँलले सिटिजन लाइफ इन्स्योरेन्समा मुख्य बजारीकरण अधिकृत (सीएमओ) का रूपमा समेत काम गरेका थिए । त्यसपछि आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा चार वर्ष नेतृत्व सम्हालेका थिए ।
विभिन्न बीमा कम्पनीमा काम गर्दै व्यवसाय र व्यवस्थापनसम्बन्धी अनुभव हासिल गरेका फुयाँल पछिल्लो समय सन नेपाल लाइफको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । उनको नियुक्तिसँगै हिमालयन लाइफको व्यवस्थापकीय नेतृत्वमा नयाँ जिम्मेवारी थपिएको छ ।