काठमाडौं । विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरस रोकथामका उपायस्वरुप पर्यटक भिसा नदिने र छिमेकी मुलुक भारतसँग जोडिएका सीमानाकाहरु सीमित गर्ने निर्णय पनि गरेको छ ।
अध्ययनका लागि विदेश जाने विद्यार्थीहरु लागि दिइने नो अब्जेक्सन सर्टिफिकेट पनि ३० अप्रिल अगाडि नदिने निर्णय सरकारले गरेको छ । यसअघि नेपाल सरकारले दक्षिण कोरियामा मात्र मार्च महिनाभरका लागि कामदारहरु नपठाउने निर्णय गरेको थियो । नेपालीका श्रम गन्तव्य मुलुकहरुसमेत कोरोना भाइरसबाट आक्रान्त भएपछि नेपाल सरकारले श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो । १४ मार्च २०२० देखि नेपाल प्रवेश गर्ने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ ।