free website hit counter

अपि पावरले ५ प्रतिशत बोनस शेयर दिने

beemaadmin
२०८१ आश्विन १९, शनिबार

काठमाडौं । अपि पावर कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट नगद लाभांशको सट्टा बोनस शेयर दिने भएको छ । नगद लाभांश वितरण गर्ने निर्णयलाई विद्युत नियमन आयोगले रोकेपछि कम्पनीले बोनस शेयर दिने निर्णय गरेको छ । सोसम्वन्धी प्रस्तावसमेत अनुमोदनका लागि आउँदो कात्तिक ११ गते बार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले गएको भदौ ७ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक बर्ष २०८०–८१ को खुद मुनाफाबाट कम्पनीको हाल कायम पाँच अर्ब ७८ करोड ६५ लाख रुपियाँ चुक्ता पुँजीको नौ प्रतिशतले बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलब ४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव बार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको थियो । तर आयोगले यो मुनाफा वितरण गर्न नमिल्ने भन्दै पत्र काटेपछि कम्पनीले कात्तिक १ गतेका लागि निर्धारण गरेको बार्षिक साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको थियो । यही गएको असोज १८ मा बसेको सञ्चालक समितिको अर्को बैठकले गत आवको मुनाफाबाट पाँच प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव २६३२ प्रतिशत नगद लाभांश घोषणा गरी बाँकी चार दशमलव २५०३ प्रतिशत मुनाफा बराबरको रकम (२४ करोड ५९ लाख ५२ हजार ९२ रुपियाँ) कम्पनीको जगेडा कोषमा राख्ने निर्णय गरेको छ । साथै, कम्पनीको शेयरधनीहरुको शेयर दर्ता किताब बन्द हुने (बुक क्लोज)को मिति कात्तिक २ लाई तोकिएको छ ।

सम्बन्धित समाचार