काठमाडौ । समग्र बीमा व्यवसायलाई नै प्रश्न उठाउने गरी सिर्जना हुने गरेका विवादलाई मैदानमा आउनै नदिई समाधान गर्ने उद्देश्यले नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालनमा ल्याएको छ । प्राधिकरणले बिहीबारदेखि प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा इजलास सञ्चालनमा ल्याएको हो । प्राधिकरणका अध्यक्ष शरद ओझाको अध्यक्षताको पहिलो प्राधिकरण सञ्चालक समितिको बैठकबाट सामान्य अदालतमा झैं प्राधिकरणमा पनि मुद्दाको सुनुवाइ प्रक्रिया लगायतलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो । वैशाख २ गतेदेखि सञ्चालनमा आउने भएपनि विविध कारणले थोरै ढिला हुन पुगेको प्राधिकरणले जनाएको छ । अध्यक्ष शरद ओझाको अध्यक्षतामा प्राधिकरणका सञ्चालक समितिका सदस्यहरू मानबहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागितामा आज नयाँ कक्षमा इजलास बसेको छ । प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजुरीमाथि इजलासमा पक्ष तथा विपक्षका कानुन व्यवसायीहरूबाट बहस भएको थियो ।