free website hit counter

अर्थमन्त्रालय बजेट लेखनमा जुट्यो

beemaadmin
२०८० चैत्र १९, सोमबार

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को लागि जेठ १५ मा बजेट घोषणा गरिसक्नु पर्ने कानुनी प्रावधानका कारण अर्थ मन्त्रालय बजेट लेखनमा जुटेको छ । मन्त्रालयले बजेटका लागि सुझाव माग गर्दै अनावश्यक मन्त्रालय प्रवेश नगर्न पनि अनुरोध गरेको छ । बजेट निर्माणका लागि मन्त्री र कर्मचारीहरू व्यस्त हुने भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआउन मन्त्रालयले अनुरोध गरेको हो । मन्त्रालयले बजेटका लागि विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई सुझाव माग गरेको हो । मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन‘मा गएर वा इमेल पठाएर सुझाव दिन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका कर्मचारी बजेट लेखनका व्यस्त रहेकोले मन्त्रालयको मुख्य ढोका पनि बन्द गरिएको छ । विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमा यसअघि नै संसदमा छलफल पनि भइसकेको छ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१–८२ का लागि १८ खर्बको बजेट सिलिङ दिएको छ । अर्थ मन्त्रालयले त्यही सिलिङलाई टेकेर नयाँ बजेट निर्माण प्रक्रिया अघि बढाएको हो ।मन्त्रालयका प्रवक्ता उत्तम खत्रीले बजेट लेखनमा जुट्दा भीडभाड नहोस् र गोपनीयता कायम रहोस् भन्ने उद्देश्यले अर्थ मन्त्रालयको ढोका बन्द गरिएको बताए । अतिआवश्यक काम हुनेलाई अनुमति दिएर प्रवेश दिइने उनको भनाइ छ । अर्थमन्त्री वर्षमान पुनले गत शुक्रबार सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

सम्बन्धित समाचार