free website hit counter

बालेनलाई भारतपछि चीन भ्रमण गराउने बेइजिङको पहल

beemaadmin
२०८३ मंसिर ७, आईतवार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणको अन्तिम तयारीमा रहेका बेला चीनले पनि उनलाई आफ्नो देश भ्रमण गराउन कूटनीतिक पहल थालेको छ। प्रधानमन्त्री बनेलगत्तै चीनले भ्रमणको निम्तो दिए पनि त्यसबेला स्थगित भएको भ्रमणको विषय अहिले पुनः चर्चामा आएको हो।

बालेन प्रधानमन्त्री नियुक्त भएपछि चीनले औपचारिक रूपमा नेपाल भ्रमणको निम्तो दिएको थियो। तर, त्यतिबेला प्रधानमन्त्री शाहले एक वर्षसम्म कुनै पनि विदेश भ्रमण नगर्ने बताएका थिए। त्यसपछि चीन भ्रमणको तयारी अघि बढ्न सकेको थिएन।

Advertisement
Advertisement

अहिले भने चीनले प्रधानमन्त्री शाहलाई छिट्टै बेइजिङ भ्रमण गराउने प्रयास थालेको छ। यसका लागि नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ सक्रिय भएका छन्। उनले प्रधानमन्त्री कार्यालयसहित अर्थ र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूसँग यस विषयमा छलफल अघि बढाएका छन्।

Advertisement
Advertisement

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चीनले प्रधानमन्त्री शाहको भ्रमण छिट्टै गराउन चाहेको छ। त्यसका लागि चिनियाँ पक्षले परराष्ट्र मन्त्रालयसँग पनि छलफल गरिसकेको छ। मन्त्रालयले समेत भ्रमणको प्रारम्भिक तयारी थालेको स्रोतको भनाइ छ।

चिनियाँ राजदूत माओमिङले मंसिर ३ गते परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका थिए। त्यसपछि उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका थिए। दुवै भेटमा उनले प्रधानमन्त्री शाहको चीन भ्रमणको प्रस्ताव राखेको स्रोतले जनाएको छ।

बीआरआई कार्यान्वयनमा चीनको चासो

प्रधानमन्त्री शाहलाई चीन भ्रमण गराउने पहलसँगै बेइजिङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको विषयलाई पनि प्राथमिकतामा राखेको छ।

नेपालको वर्तमान सरकारले बीआरआई कार्यान्वयनबारे अहिलेसम्म ठोस छलफल अघि बढाएको छैन। तर, चीनले भने विभिन्न कूटनीतिक माध्यमबाट यसको कार्यान्वयनका लागि निरन्तर चासो देखाउँदै आएको छ।

सरकार गठन भएलगत्तै चीनले बीआरआई परियोजना अघि बढाउन विभिन्न तहमा पहल गरेको थियो। तर, सरकारले यस विषयमा अपेक्षित चासो नदेखाएको चिनियाँ पक्षको बुझाइ रहेको स्रोतको भनाइ छ। यही कारण पनि चीनले नेपालसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भ्रमणलाई तीव्रता दिन खोजेको देखिन्छ।

रवि लामिछानेको भ्रमण पनि स्थगित भएको थियो

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा मन्त्रीहरूले चीन भ्रमण गरिसकेका छन्। अहिले पनि रास्वपाका २० जना सांसद चीन भ्रमणमा रहेको बताइएको छ।

चीनले रास्वपा सभापति रवि लामिछानेलाई समेत भ्रमण गराउने तयारी गरेको थियो। त्यसका लागि प्रारम्भिक तयारीसँगै भ्रमणको मितिसमेत लगभग तय भइसकेको थियो। औपचारिक घोषणा हुनुअघि नै अचानक उक्त भ्रमण स्थगित भएको थियो।

अब भने चीनले प्रधानमन्त्री शाहलाई नै उच्चस्तरीय भ्रमणमा बोलाउन प्राथमिकता दिएको छ। प्रधानमन्त्रीको भारत भ्रमणलगत्तै चीन भ्रमणको विषयले गति लिने सम्भावना देखिएको छ। यद्यपि, भ्रमणको औपचारिक मिति र कार्यतालिका भने सार्वजनिक भइसकेको छैन।

सम्बन्धित समाचार