free website hit counter

असार ७ को सूर्यग्रहण, कुन कुन राशिलाई फलिफाप ? (के गर्ने, के नगर्ने ?)

beemaadmin
२०७७ असार ५, शुक्रबार

आषाढ कृष्ण औँसीका दिन असार ७ गते आइतबार खण्डग्रास सूर्यग्रहण लाग्ने छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएअनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्नेछ । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देखिने छ । शास्त्रीय मान्यता अनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामी बाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ । ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी र सो सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने अन्य कामलाई ग्रन्थमा उल्लेख गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् समेत रहनुभएका गौतमले बताउनुभयो । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वास अनुसार असार ६ गते राति १०ः५० बजेदेखि भोजन गर्नु हुँदैन । असार ७ गतेको सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० मा उल्लेख छ । मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्नुहुन्छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने मान्यता छ । यस वर्ष नेपालबाट देखिने असार ७ गतेको सूर्यग्रहण मात्र रहेको समितिले जनाएको छ ।

कहाँ कहाँबाट देखिन्छ ग्रहण ?
खगोल विज्ञानका क्षेत्रमा काम गरिरहेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सङ्घीय राजधानी सहित सातै प्रदेशका राजधानीबाट सूर्यग्रहण देखिने समय समेत सार्वजनिक गरेको छ । काठमाडौँबाट बिहान १०ः५३ः५८ मा शुरु, १२ः४१ः०२ मा मध्य र १४ः२४ः३५ मा अन्त्य हुने बताइएको छ ।
प्रदेश नं. १ को विराटनगरबाट बिहान १०ः५८ः४५ शुरु, मध्याह्न १२ः४७ः०४ मा मध्य र अपराह्न १४ः२९ः२९ मा अन्त्य हुने छ । यसैगरी प्रदेश नं. २ को जनकपुरबाट बिहान १०ः५५ः०१ शुरु, मध्याह्न १२ः४२ः५० मा मध्य र अपराह्न १४ः३६ः२० मा अन्त्य हुनेछ । वाग्मती प्रदेशको हेटौँडाबाट बिहान १०ः५२ः५२ मा शुरु, मध्याह्न १२ः३९ः५८ मा मध्य र अपराह्न १४ः२३ः५५ मा अन्त्य हुने सोसाइटीले जनाएको छ । गण्डकी प्रदेशको राजधानी पोखराबाट बिहान १०ः५०ः४५ मा शुरु, मध्याह्न १२ः४१ः५९ मा मध्य र अपराह्न १४ः२१ः१४ मा अन्त्य हुने छ । प्रदेश नं. ५ को बुटवलबाट बिहान १०ः४८ः५० मा शुरु, मध्याह्न १२ः३५ः०६ मध्य र अपराह्न १४ः२०ः०२ मा अन्त्य हुने जनाइएको छ ।

कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरबाट बिहान १०ः४५ः२४ मा शुरु, मध्याह्न १२ः३०ः१८ मध्य र अपराह्न १४ः१५ः४२ मा अन्त्य हुने छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट बिहान १०ः४२ः४६ मा शुरु, मध्याह्न १२ः२६ः५२ मा मध्य र अपराह्न १४ः१२ः४२ मा अन्त्य हुने छ । वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरीकाले सबैले ग्रहण हेर्न सकिने पनि सोसाइटीले जनाएको छ । प्रदेश नं। १ बाट सन् १९६५ नोभेम्बर २३ तारिखका दिन बिहान खग्रास (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण लागेको थियो । अब खग्रास सूर्यग्रहण सन् २०६४ फेब्रुअरी १७ मा प्रदेश नं. १ कै दक्षिणपूर्वी भूभागबाट देखिने छ  ।

कुन कुन राशिलाई फलिफाप ?
असार ७ गते आइतबार खण्डग्रास सूर्य ग्रहण दुई नक्षत्रलाई समेट्दै मिथुन राशिमा लाग्दैछ । उक्त ग्रहणले दुईवटा नक्षत्रलाई सन्धि बनाएर ३ घण्टा ३३ मिनेटसम्म लाग्न लागेको हुनाले यसलाई विशेष रुपमा हेरिएको हो । ग्रहण सुरुभएको २ घण्टा ३५ मिनेट पछि मृगशिरा नक्षत्रलाई छोडेर आद्रा नक्षत्रमा करिब ५८ मिनेटसम्म ग्रहण रहिरहने छ । यस्तो खालको ग्रहण महाभारत युद्धको समयमा पनि लागेको भन्ने ज्योतिषका सिद्ध ग्रन्थ तथा पुराणहरुमा उल्लेख्य गरिएको छ । आइतबार सूर्य ग्रहण तथा सोमबार चन्द्र ग्रहण परेको वर्ष विशेष महत्व रहने गरेको छ । उक्त ग्रहणलाई चुडामणि ग्रहण भन्ने गरिएको छ । गत वर्ष पुस महिनामा लागेको खण्डग्रस सूर्यग्रहण भन्दाभन्दा ठीक विपरीत तरिकाबाट लागेकाले पनि यसको प्रभाव विश्वभरि नै सकारात्मक रहने अनुमानित गरिएको छ । मृगशिरा र आर्द्रा नक्षत्र तथा मिथुन राशिमा लाग्ने ग्रहणले १२ राशिमा फरक फरक प्रभाब पर्ने छ । विशेषगरी वृष, मिथुन, बृश्चिक र मीन राशिका जातक हरुका लागि ग्रहणको प्रभाव उच्च रहने छ भने कर्कट, तुला, धनु र कुम्भ राशि हुनेहरुका लागि मध्यम रहनेछ ।

मेष, सिंह, कन्या तथा मकर राशि हुनेका लागि भने शुभ रहने छ । पञ्चाङ्गमा उल्लेख भएअनुसार मेष राशिका जातकले ग्रहण अवलोकन गरेमा श्रीप्राप्ति तथा सिंह राशिहुनेका लागि लाभ र कन्या तथा मकर राशिका जातकका लागि सुख प्राप्ति हुने बताइएको छ । असुरक्षित तरिकाबाट कसैले पनि ग्रहण अवलोकन नगर्न समेत आम सर्वसाधारणमा आग्रह गरिएको छ। यो ग्रहण ७५ प्रतिशत मानिसले हेर्न नहुने तथा चार ओटा राशि अर्थात २५ प्रतिशतले सुरक्षित अवलोकन गर्दा कुनै प्रकारको हानिकारक नहुने ज्योतिषीले जानकारी गराएका छन् ।

धार्मिक नियम अनुसार असार ६ गते शनिबार राति १० बजेर ५० मिनेटबाट नै बालक, वृद्ध अशक्त तथा रोगीहरु बाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । यस्तो अवस्थालाई सुतक काल भनेर भनिएको छ । सुतक सू्र्य ग्रहण लाग्नुभन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने उल्लेख गरिएको छ। ग्रहणको प्रभाव कम गर्नका लागि घरमा भएका पानीका भाडाहरुमा कुश राख्ने तथा गाईको गोबरले घर घेर्ने परम्परा पनि सदीयौंदेखि रहिआएको छ । गाईको गोबरमा हानिकारक व्याक्टेरियालाई निष्कृय पार्न सक्ने शक्ति रहेको वैज्ञानिकबाटै पुष्ठि भैसकेको छ । खण्डग्रास सूर्यग्रहण विशेष गरेर मिथुन राशिका दुईवटै नक्षत्रमा लाग्ने भएकाले ज्योतिष तथा खगोलविद्हरुले ऐतिहासिक ग्रहण भनेर जानकारी गराएका छन । यसको प्रभाव पृथ्वीमा रहेका हरेक वस्तुमाथि फरक फरक तरिकाले पर्दछ ।

यस्ता खाले ग्रहण लागेको समयमा विभिन्न क्षेत्रमा प्रभाव पार्ने गर्दछ । बिशेष गरी पश्चिमी उत्तरका देशहरुमा यसको प्रभाव उच्च रहने छ । ग्रहण लाग्ने राशिको हिसाबले पनि मिथुन राशिको दिशा पनि पश्चिम नै हो, यस कारणले पनि पश्चिमी क्षेत्रमा उच्च प्रभाव पर्ने अनुमान गरिएको छ । ग्रहको अवस्था पनि देवगुरु बृहस्पति नीच अवस्थामा शनिसँग वक्री भएर एउटै राशिमा रहेका छन् । जुन जुन समयमा शनि तथा बृहस्पति एउटै राशिमा बस्दछन् यस्तो समयमा विश्वमा नै नकारात्मक प्रभाव पर्ने गरेको छ । गत वर्ष पुस १० गते लागेको ग्रहण पनि दुर्लभ भनेर भनिएको थियो । उक्त समयमा पनि ६ ओटा ग्रह एकैसाथ धनु राशिमा बसेको अवस्थामा लागेको थियो यसको प्रभाव पूरा विश्वभरिनै परिरहेको छ । आइतवार लाग्ने ग्रहणले पनि विशेष गरी महामारी, चोरी डकैती विपरीत बुद्धि हुने भनेर भनिएको छ । बुध व्यापारसँग सम्बन्धित रहेकाले राहु चन्द्रमा र सूर्यसँग सँगै बसेकाले पनि व्यापार व्यवसाय तथा वित्तीय क्षेत्रहरुमा यसको उच्च प्रभाव रहने अनुमान गरिएको छ । हवाई दुर्घटना तथा भुकम्प जान सक्ने सम्भावना पनि विगतमा लागेका ग्रहको अनुसन्धानका क्रममा अनुमानित गरिएको छ । यो खण्डग्रास सुर्य ग्रहण हो । ग्रहण प्रकृतिका लागि अद्भुत चमत्कार एक खगोलीय घटना हो । यसको गणना ईसाको चार हजार वर्ष पूर्व नै गणना भएको कुरा वेदमा उल्लेख छ । ऋग्वेदमा भनिएको छ, ‘अत्रि ऋषिका परिवारलाई मात्रै यस्तो खाले खगोलीय घटनाको गणना गर्ने ज्ञान थियो । महर्षि अत्रिमुनि ग्रहणहरुको बारेमा जानकारी गराउने प्रथम आचार्य भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । वैदिककालदेखि नै ग्रहणको अध्ययन तथा परिक्षण भएको प्रमाण भेटिन्छ ।

पाचौँ शताब्दीमा आर्यभट्टले ग्रहण सम्बन्धि थप रहस्य पत्ता लगाउँदै ग्रहणको आधिकारिक समय निर्धारण गरेका थिए । भौतिक विज्ञानले पनि स्वीकारेको छ, एन्टिरेडिएसनका रुपमा र आध्यात्मिकले पनि नकारात्मक शक्ति एकदमै हानिकारक हुन्छ भनेर । ग्रहणको समयमा सूर्यबाट आउने किरणमा नकारात्मक प्रकाश आउने हुँदा यसबाट बच्नका लागि आग्रह समेत गरेका छन् । यसको स्रोत भनेको, राहु र केतु नाम गरेका ग्रहहरुबाट नै आउने हो । त्यस कारण हरेक औंशी तथा पूर्णिमामा ग्रहण लाग्नुको मुख्य कारण नै राहु र केतुले गर्दा हो ।

वैज्ञानिक तथा खगोलविद्हरुले यस्ता किसिमका खगोलीय घटनाहरुलाई निक्कै महत्त्वका हेर्ने गर्दछन् ।खगोल सम्बन्धि अध्ययन गर्नका लागि ग्रहणको समय अति उपयोगी हुने गरेको छ । ऋषि महर्षीहरुले हजारौं वर्ष पहिल्यै खाली आँखाले रातको समयमा देखिने तारा तथा नक्षत्रलाई गणना गरेर पत्ता लगाएको खगोल विज्ञानलाई आधुनिक विज्ञानले अर्बौं डलर खर्च गरिसकेका छन् । पृथ्वीले आफ्नो अरविटमा नित्य रुपमा सूर्यको परिक्रमा गरिरहेको छ । त्यस्तै सूर्यले पूरा सौर्य परिवारकै परिक्रमा गरिरहेको छ । चन्द्रमाले पनि पृथ्वीको चारैतिर परिक्रका गरिरहेको छ । पृथ्वीमा भएका मानिसले चन्द्रमाको करिब आधाभाग लगभग ५४ प्रतिशत मात्रै अर्थात चन्द्रमाको एकापट्टिको भाग मात्रै देखिरका हुन्छौं ।
परिक्रमाकै क्रममा जब चन्द्रमा सूर्य र पृथ्वीको मध्यभागमा आउँदछ या एउटै लाईनमा पर्दछ यस्तो अवस्था लाई न्यूमुन अर्थात् अमावस्य भनिन्छ । यस्तो अबस्थामा चन्द्रमाले सूर्यको प्रकाशलाई पूर्णरूपमा पृथ्वीमा आउन अवरोध गर्दछ र राहु तथा केतुको पनि पूर्ण छाया परेको अवस्थामा पृथ्वीको जुन भागबाट उक्त सूर्यको प्रकाश देख्न पाईदैन त्यही स्थानलाई नै ग्रहण लागेको भनेर भनिएको हो । यहीँ ग्रहण अन्य देशबाट फरक तरिकाले पनि देख्न सकिन्छ ।

यसको ठिक बिपरित चन्द्रमा अपोजिट साईटमा गएको अबस्था रेखिय अबस्था बन्दछ । पृथ्वीको विपरीत तर्फ हुँदा पूर्णिमा हुन्छ यस्तो अबस्थामा सूर्यको किरण पूर्णरुपमा चन्द्रमामा ठोकिएर पृथ्वीमा आउँदछ । यदि यस्तो अबस्थामा राहु या केतु ग्रहमध्ये कुनै एक नजिक गएको अवस्थामा या चन्द्रमाको प्रकाश छेकेमा चन्द्र ग्रहण लाग्दछ । सामान्यतया चन्द्रमाको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण तथा पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्र ग्रहण लाग्दछ । ग्रहण कालमा कुनै नदी, तलाउ तथा धार्मिक क्षेत्रमा गएर स्नान गर्नु पर्ने बिधान रहेको छ । साधना गर्ने मानिसका लागि यस्तो दिन अति उपयोगि मानिन्छ । दान तथा मन्त्र हरुको जपले यसको प्रभाव कमपर्ने शास्त्रमा उल्लेख गरिएको छ । यो ग्रहणमा शिव तथा कालीको साधना बहु उपयोगी हुने उल्लेख गरिएको छ । यस्तो समयमा गरिएको शुभ कर्महरु अन्य समयमा गरिएको भन्दा १०८ गुणाले बढिहुने शास्त्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार