free website hit counter

आइएमई लाइफको खुद बीमाशुल्क करिब ३ अर्ब नजिक

beemaadmin
२०८० बैशाख २०, बुधबार

काठमाडौं । आईपीओ निष्काशनको तयारी रहेको आइएमई लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क करिब ३ अर्ब नजिक पुर्याएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा कम्पनीको खुद बीमाशुल्क २१.४९ प्रतिशतले बढेर २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ४३ करोड ६९ लाख रुपैयाँ, बीमालेख धितोमा ५६ करोड ५८ लाख रुपैयाँ लगानी गरी ३ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । बीमाशुल्कसँगै कम्पनीको खुद नाफा पनि उल्लेख्य बढेको छ । यस अवधिमा कम्पनीको खुद नाफा ७८.८८ प्रतिशतले बढेर १८ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १० करोड १९ लाख रुपैयाँ रहेको थियो । चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १७६ रुपैयाँ प्रिमियम मूल्य सहित प्रति कित्ता २७६ रुपैयाँमा आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले प्रति कित्ता २७६ रुपैयाँका दरले ३ अर्ब ३१ करोड १२ लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ । यस अवधिमा कम्पनीले १ लाख २९ हजार ५९८ वटा बीमालेख जारी गरी ३ अर्ब ९८ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनी ४८७ वटा दाबी वापत ८३ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४५ वटा दाबी वापत ४ करोड १३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा र प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।

सम्बन्धित समाचार