काठमाडौं । चुक्ता पुँजीको चटारोमा रहेका महालक्ष्मी लाइफ इन्स्योरेस र प्रभु लाइफ इस्योरेन्स मर्जरमा जाने अन्तिम तयारीमा जुटेका छन् । यो योजनासँगै महालक्ष्मी लाइफले जारी गर्ने भनिएको आईपीओ अन्योलमा परेको छ । मर्जरमा जान समय घर्किंदै जाँदा आईपीओ निष्काशन गर्न कम्पनी दुविधामा परेको हो । महालक्ष्मी लाइफका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रामेश्वर श्रेष्ठले पनि आईपीओको निकाष्शनको संभावना टरेको स्वीकार गरेका छन् । श्रेष्ठले चालु आर्थिक वर्षभित्रै मर्जर भइसक्नुपर्ने भएकाले आउँदो असार दोस्रो सातासम्म एकीकृत कारोबार गर्ने संभावना रहेको बताए । प्राधिकरणले मर्जर प्रक्रियामा रहेका बीमा कम्पनीहरुलाई आउँदो असारभित्र एकीकृत कारोबार गर्न समय थप गरेको छ । यता, नेपाल बीमा प्राधिकरणले महालक्ष्मी लाइफ मर्जरमा जान कस्सिएकाले अब आईपीओ निष्काशनको संभावना नरहेको बताउँदै मर्जरपछि हकप्रद शेयर जारी गर्न दिने बताएको छ । महालक्ष्मी लाइफले आईपीओ जारी गर्ने आशामा लाखौ लगानीकर्ता प्रतिक्षामा रहेका थिए । त्यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड तथा बीमा प्राधिकरणसँग अनुमति समेत मागेको थियो । तर मर्जर प्रक्रियाले सो योजना अवरुद्ध भएको छ भने लगानीकर्ताको आशा तुहिएको छ ।