काठमाडौं । चुक्ता पुँजी पुर्याउने होडमा बीमा कम्पनीहरु एक आपसमा गाभिने क्रम जारी छ । नेपाली बीमाको इतिहासमा पहिलो पटक दुई वटा बीमा कम्पनीहरु मर्जर प्रक्रिया आज सम्पन्न हुँदैछ । एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी मर्ज भई बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आज हुँदैछ । आज बिहान ९ः३० बजे काठमाडौंको दरवारमार्गस्थित याक एण्ड यति होटलमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, मुख्य सञ्चालकहरु एनसिई ग्रुप तथा राजेन्द्र खेतानसहितका उद्योगी व्यवसायीहरु, दुवै कम्पनीका सञ्चालक तथा कर्मचारीहरुको उपस्थितिमा एकीकृत कारोबार सुरु हुनेछ ।
हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा भई बीमा समितिले मर्जरको अन्तिम स्वीकृति दिइसकेको छ । यससँगै दुवै कम्पनीहरुले आजबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । यी दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पारित भएका थिए । बीमा समितिले यी दुवै कम्पनीको मर्जरलाई गत असार ८ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
मर्जरपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर वितरणसँगै बीमा समितिले तोकेको चुक्ता पुँजि दुई दुई अर्ब पुग्नेछ । मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’ रहनेछ । हाल एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब २५ करोड र हिमालयनको १ अर्ब १७ करोड रुपैयाँ छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह हुनेछन् । शाह हाल हिमालयन जनरल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत छन् ।