free website hit counter

आर्थिक रुपमा कमजोर प्रत्येक व्यक्तिको पहुँचमा बीमा पुग्नु पर्दछ

beemaadmin
२०८० माघ ८, सोमबार

मञ्जु पुडासैनी, एमडीआरटी क्लब, आईएमई लाइफ

नागार्जुन १ रानीवन बस्ने मञ्जु पुडासैनी शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । त्यसका अलावा समाज शास्त्रमा एमए उत्तीर्ण गरी एम फिल गर्दै आइएमई लाइफ इन्स्योरेन्सको अभिकर्ता बनेर छोटो समयमै एमडीआरटी क्लबमा पुग्न सफल पात्र हुनुहुन्छ । पुडासैनीसँग बीमा व्यवसाय र अभिकर्ताका समस्याका बारेमा गरिएको छोटो कुराकानी

० बीमा अभिकर्ता पेशा रोज्नुको कारण ?

यो पेशामा पैसाको साथै आत्मसन्तुष्टि पनि छ । यो पेशामा लागेपछि मार्केटिङ लगायत धेरै तालिमहरुले आकर्षण बढायो । यो पेशाले छरिएर रहेको पैसालाई एकतृत भई बीमितलाई नियमित बचत र जोखिम बहन भई आर्थिक सुरक्षा प्रदान गर्दछ भने बीमकले व्यापार पाई विविध क्षेत्रमा लगानी गरी रोजगारीको अवसर दिलाउँछ । अभिकर्ताले पनि आम्दानी गर्दछ । उक्त लगानी र आम्दानीको राज्यलाई कर बुझाई अर्थतन्त्रमा टेवा पुगी असल नागरिकको भूमिका निर्वाह गरिन्छ ।

० छोटो समयमा नै यो पेशामा कसरी सफल हुनुभयो ?

मैले समाजमा जे योगदान गरें, संघर्ष गरे त्यसैको प्रतिफलले गर्दा एमडीआरटी हुन सफल भएँ भने लामो समयको पब्लिक रिलेशन, सकारात्मक सोच र निरन्तरता पनि प्रमुख कारण हो ।

० शिक्षण पेशा र बीमा अभिकर्तामा के फरक पाउनुभयो ?

शिक्षण पेशा मर्यादित भए पनि जटिलता उत्तिकै छ र निश्चित सीमा भित्र रहेर काम गर्नु पर्दछ भने यो पेशा आफू आनुकुल गर्न सकिन्छ । कुनै पनि समयमा फ्रि तरिकाले काम गर्न पाइन्छ । कसैको अण्डरमा काम गर्नु पर्दैन । समय समयमा तालिम हुन्छ, जसले कार्यक्षमता वृद्धि गरी व्यवसाय विस्तारमा सहयोग पुग्दछ र विविध सुविधाहरु उपलब्ध हुँदा आनन्द लाग्छ ।

० तपाईंको अनुभवमा ठूलो बीमाङ्कको बीमालेख बिक्री गर्दा र सानो बीमाङ्कको बीमालेख बिक्री गर्दाको अन्तर के पाउनु हुन्छ ?

ठूलो बीमालेख बिक्री गर्दा सबैको पहुँच नपुग्न सक्छ र बीमालेख नविकरण हुने सम्भावना कम हुन्छ । मेरो अनुभवमा पनि ठूलो बीमालेखको बीमाशुल्क उठाउन गाह्रो परेको छ । त्यसले गर्दा सबैको पहुँचमा पुग्ने गरी १०–२० लाखको बीमालेख बिक्री गर्दा राम्रो हुन्छ । आर्थिक रुपमा कमजोर, न्यून, मध्यम वर्गीय परिवारमा वा व्यक्तिलाई थोरै शुल्कले जोखिम बहन भई आर्थिक सुरक्षा प्रदान गरी नियमित बचत पनि हुन्छ । सानो बीमालेखका ग्राहक पनि इमान्दार हुन्छन्, बीमालेख नियमित भई समर्पण हुने सम्भावना कम हुन्छ ।

० ठूलो बीमाङ्क रकमको बीमालेख निस्क्रिय हुने, समर्पण हुने र चुक्ता बीमालेखमा परिणत हुने सम्भावना बढी रहँदा आफ्नो ग्राहकलाई के कस्तो सल्लाह दिनुहुन्छ ?

आर्थिक अवस्था हेरेर र न्यूनतम आवश्यकता पहिचान गरेर सकभर परिवारका सबै सदस्यको बीमा गर्न सल्लाह दिन्छु । सामान्य व्यक्तिको कम्तिमा एक महिनाको कमाई वा तलब बचत गरी बीमा गर्न सल्लाह दिन्छु ।

० ग्राहकको धारणा कस्तो पाउनुभएको छ ?

नकारात्क धारणा बढी भेटिन्छ । आलटाल गरिरहन्छन् । बीमाको दायराभित्र ल्याउनै गाह्रो हुन्छ । अझै पनि आम मानिसमा बीमा आवश्यकता हो भन्ने सोचको विकास भएको छैन ।

० यो कम्पनी नै रोज्नुको कारण के हो ?

यस कम्पनीका प्रडक्टहरु उत्कृष्ट छन् । हाम्रो कम्पनीका कार्यकारी अधिकृत (सिइओ) कवि फुयाल सर युवा, ऊर्जासिल, मिलनसार, सरल, स्वभाव र हार्दिक प्रकृतिको हुनुहुन्छ र अन्य कर्मचारीहरु पनि सहयोगी हुनुहुन्छ । राइडरहरु पनि अन्य कम्पनीको भन्दा राम्रा छन् । जसले गर्दा सबैको पहुँचमा पुग्न सकिन्छ । यी सबै कारणहरुले गर्दा यो कम्पनी मेरो रोजाईमा परेको हो ।

० अन्त्यमा केही भन्नु छ ?

बीमा भनेको स्मार्ट सेभिङ हो । जसले जोखिम बहन पनि गर्छ । न्यून मध्यम वर्गीय व्यक्तिले आफ्नो क्षमता अनुसारको बीमा गर्नैपर्छ । जो ऋणी छ उसले पनि ऋणभारबाट मुक्त हुन बीमा गर्नु जरुरी छ । आर्थिक रुपमा कमजोर प्रत्येक व्यक्तिको पहुँचमा बीमा पुग्नु पर्दछ । यसमा राज्यको पनि योगदान हुन जरुरी छ ।

सम्बन्धित समाचार