काठमाडौं । इजरायलले नेपालबाट २ हजार ३ सय नेपाली कामदार लैजाने भएको छ । नेपाल र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा नेपाली नागरिक लैजान वैदेशिक रोजगार विभागले आवेदन खुलाएको हो ।
विभागका अनुसार कुल कोटामध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषका लागि छुट्याइएको छ । इच्छुक योग्य नेपाली नागरिकले विभागको अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्नेछन् । आवेदन प्रक्रिया आगामी २०८३ जेठ १७ गते राति १२ बजेदेखि सुरु भएर असार ७ गते राति १२ बजेसम्म खुला रहनेछ ।
इजरायल जान चाहने उम्मेदवारका लागि विभिन्न योग्यता तथा मापदण्ड तोकिएका छन् । आवेदन दिने व्यक्ति २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । साथै, कम्तीमा १.५ मिटर उचाइ र ४५ केजी तौल भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
शैक्षिक योग्यताअन्तर्गत कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए विषयमा न्यूनतम १५ महिने अध्ययन पूरा गरेको हुनुपर्नेछ । त्यस्तै, प्लस टु वा सो सरह उत्तीर्ण गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट केयरगिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्नेछ ।
आवेदक यसअघि इजरायलमा काम गर्न नगएको हुनुपर्नेछ । साथै, उनका बुबा, आमा, पति, पत्नी वा छोराछोरी हाल इजरायलमा बसोबास वा रोजगारीमा रहेको हुनुहुँदैन । पासपोर्टको म्याद प्रवेशाज्ञा प्रक्रिया सुरु हुने समयसम्म कम्तीमा तीन वर्ष बाँकी हुनुपर्ने प्रावधान पनि राखिएको छ ।
कामदार शारीरिक तथा मानसिक रूपमा पूर्ण स्वस्थ हुनुपर्नेछ । क्षयरोग, हेपाटाइटिस, भिरिङ्गी, गोनोरिया वा एड्सजस्ता दीर्घ रोग नभएको र गह्रौँ सामान उठाउन सक्ने क्षमता भएको हुनुपर्ने उल्लेख गरिएको छ ।
अंग्रेजी भाषाको ज्ञान पनि अनिवार्य गरिएको छ । आवेदकले तोकिएको संस्थाबाट सञ्चालन हुने क्याम्ब्रिज अपस्किल अंग्रेजी परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।
अनलाइन आवेदन दिँदा वैध प्रहरी चारित्रिक प्रमाणपत्र, पासपोर्टको स्क्यान कपी, उचाइ तथा तौल उल्लेख गरिएको स्वघोषणा फाराम र गोपनीयता मञ्जुरीनामा अपलोड गर्नुपर्नेछ ।
छनोट भएका कामदारले इजरायलका स्याहार केन्द्रमा रहेका गम्भीर शारीरिक तथा मानसिक अपाङ्गता भएका विभिन्न उमेर समूहका व्यक्तिको हेरचाह, सरसफाइ तथा पोषणसम्बन्धी काम गर्नुपर्नेछ ।
यस पदका लागि मासिक तलब ६ हजार ४ सय ४३ दशमलव ८५ इजरायली मुद्रा निर्धारण गरिएको छ, जुन नेपाली रुपैयाँमा करिब २ लाख ५० हजारभन्दा बढी हुन्छ । कामदारले हप्तामा ६ दिन तथा ४२ घण्टा काम गर्नुपर्नेछ । नियमानुसार ओभरटाइम सुविधा पनि उपलब्ध हुनेछ ।
सुरुमा एक वर्षको करार रहनेछ भने आवश्यकताअनुसार अधिकतम पाँच वर्षसम्म अवधि थप गर्न सकिनेछ । मासिक तलबबाट आवास, खाना, स्वास्थ्य बिमा र करबापतको रकम इजरायली कानुनअनुसार कट्टा हुनेछ । साथै, रोजगारदाताले कामदारको नाममा मासिक तलबको १२.५ प्रतिशत रकम विदेशी कामदार कोषमा जम्मा गर्ने व्यवस्था गरिएको छ । उक्त रकम करार अवधि पूरा गरी इजरायल छोड्ने बेला कामदारले फिर्ता पाउनेछन् ।
यद्यपि, हवाई टिकट, स्वास्थ्य परीक्षण, बिमा तथा कल्याणकारी कोषलगायतका प्रारम्भिक खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ ।