काठमाडौं । कोरोनासँगको युद्धमा अग्र मोर्चामा खटिएका सुरक्षाकर्मी धमाधम कोरोना संक्रमित हुँदै जाने क्रम बढेको छ । सशस्त्र प्रहरी बलको नं. १ गण इलाममा कार्यरत थप १६ जना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सीमा सुरक्षा र क्वारेन्टिन व्यवस्थापनमा खटिएका अधिकारीहरु छन् । योसँगै इलाममा सशस्त्र प्रहरीका ४७ जना अधिकारी संक्रमित भइसकेका छन् । हाल देशभर सशस्त्र प्रहरीका १५८ जना अधिकारी संक्रमित छन् । तीमध्ये ७४ जना उपचाररत छन् भने अन्य निको भएर घर फर्किसकेका छन् ।
प्रहरी प्रधान कार्यालयका १० जना नयाँ संक्रमित
यता, प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार संक्रमित प्रहरीलाई अस्पताल लैजाने तयारी भइरहेको छ । योसँगै प्रहरी हेक्वार्टरमा संक्रमितको संख्या ८५ पुगेको छ । मुलुकभर नेपाल प्रहरीका ३१९ जना अधिकारी संक्रमित छन् । तीमध्ये ११९ जना निको भएर काममा फर्किसकेका छन् ।