काठमाडौं । व्यवसाय बढेको देखाउन र आफ्नो आकर्षण बढाउन उधारो बीमा गर्दै आएका बीमकहरुलाई नियामक निकाय बीमा समितिले पटकपटक त्यस्ता व्यवसाय नगर्न निर्देशन दिँदै थप कडाई गर्दै आएको छ । समितिले कानुन र नियमको परिधिभित्र रहेर नै आफूहरूले कार्य गर्ने गरेको भन्दै दफा २७ ले बीमकलाई थप अनुशासित बनाउने विश्वास समितिको रहेको छ । बीमितले बीमा शुल्क नबुझाई बीमा गर्ने प्रवृत्ति हावी हुँदै गएको सो कार्यमा बीमकहरुले पनि कुनै चासो नदिएको भन्दै समितिले सो कुरामा कडाई गर्न निर्देशन दिँदै आएको थियो । केही महिनाअघि बीमा समितिले उधारो बीमा रोक्नु भन्दै बीमा कम्पनीलाई निर्देशन समेत जारी गरेको थियो । समितिले थप कडाई गरेसँगै बीमा कम्पनीहरूले उधारो बीमामा केही सर्तकता देखाएका थिए । तर, निर्देशन जारी गरेपछि पनि उधारो बीमा पूर्ण रूपमा बन्द भएकाे छैन । उधारो बीमामा कहिले काही व्यवहारिक पक्ष पनि जोडिने भन्दै समितिले शुक्रबार बीमा गरेर बैंकमा पैसा जम्मा गर्न नभ्याएका बीमितको हकमा भने आउने आईतबारसम्म छुट दिने व्यवस्था गरेको छ । बीमा क्षेत्रका जानकारहरूले विगतमा बीमा सम्झौता भएको महिनौ बित्दा पनि खातामा नगद नआउने र यस्ता गतिविधिले बीमा कम्पनीमा विकराल रूप ल्याउनसक्ने चेतावनी दिएका थिए ।