काठमाडौं । कोरोना संक्रमण नफैलियोस् भनेर राजधानीमा निषेधाज्ञा जारी गरेसँगै बैंकका कर्मचारीहरु बैंकमा पुग्न नसकेको भन्दै नेपाल बैंकर्स संघले आज बैंकका शाखा नखोल्न निर्देशन दिएको छ । प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि बैंकर्स संघले यस्तो निर्देशन दिएको हो । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज बैंक नखोल्न भनिएको बताएका छन् । अहिले काठमाडौं उपत्यका ठप्प छ । निषेधाज्ञा पालना गराउन सडकमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारीहरुलाई रोकेका छन् । बैंकका सीईओलाई समेत बाटैमा रोकिएको बताइएको छ । सीडीओसँग समन्वय गरी हरेक बैंकका काठमाडौंमा पाँच वटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्ने सहमति भएको थियो । बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने भनिएको थियो तर बिहान बैंक खोल्न जान लागेकाहरुलाई रोकिएपछि बैंकर्स संघले यस्तो निर्णय गरेको हो । ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले भने भने आफूहरुले माथिको आदेश बमोजिम काम गरिरहेको बताउँदै सहजीकरणको प्रयास भइरहेको बताएका छन् ।