काठमाडौं । कोरोना संक्रमणको अवस्था नेपालमा कस्तो होला भनेर अनुमान गर्ने समय आएको छ । परीक्षणको दायरा जति फराकिलो बनायो संक्रमित उतिनै बढिडरहेका छन् । दिनदिनै संक्रमितको रकेर्ड तोडिन थालेको छ । यो पक्कै सहज अवस्थाको संकेत होइन । यसका लागि पूर्व तयारीमा जुट्न ढिलाई गर्नु हुँदैन । पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चार वर्षकी बालिका र ८ वर्षका बालक पनि छन् । अरु संक्रमित १४ देखि ७० वर्ष उमेर समूहका छन् ।
रौतहटका २० जनामासंक्रमण पुष्टि भएको छ । टेकुमा गरिएको परीक्षणमा १२ देखि ३० वर्षका ३ जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ वर्षीय बालिकदेखि ४० वर्षका पुरुषसम्म १७ जनामा संक्रमण देखिएको हो । यस्तै महोत्तरीका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनी १५ देखि ४५ वर्षका छन् । सर्लाहीका ७ र सिराहाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सप्तरीमा १४ जनामा संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको गरिक्षणमा १८ देखि ४२ वर्षका १२ जना तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३२ र ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै दैलेखका १७ देखि ४० वर्षका ७ पुरुष र २० वर्षीया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतकै १३, बझाङका एक र पहिचान खुल्न नसकेकी एक महिला गरी १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
दोलखाका १९ र २० वर्षका दुई पुरुष, सोलुखुम्बुका ५५ वर्षका पुरुष, मकवानपुरका ५० वर्ष पुरुष र नवलपुरका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । २२ र २६ वर्षका पुरुष र ४९ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका २५ वर्षीय पुरुष तथा कैलालीका २५ र ३० वर्ष गरी ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यस्तै भेरी अस्पताल, नेपालगञ्जको प्रयोगालामा गरिएको परीक्षणमा बर्दियाका ३ र बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।