काठमाडौं । दिनदिनै नयाँ नयाँ रेकर्ड राख्दै अघि बढेको सुनको मूल्य अलि अलि घटे जस्तो गरे पनि माथितिरकै यात्रालाई जारी राखेको छ । यस साता नेपाली बजारमा सुनको मूल्य तोलामा करिब ५ हजार रुपैयाँ बढेको छ भने चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। साताको पहिलो दिन अर्थात आइतबार प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, शुक्रबार १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। यस साता सुनको मूल्य आइतबारदेखि बिहीबारसम्म निरन्तर बढेको थियो। शुक्रबार भने सुनको मूल्य स्थिर रहेको थियो। अन्तरराष्ट्रिय बजारमा देखिएको सुस्त आर्थिक गतिविधि, अमेरिकी राष्ट्रिय ऋण र भूराजनीतिक अनिश्चितताका कारण सुरक्षित लगानीको रुपमा रहेको सुनको मूल्य बढ्न पुगेको विश्लेषणहरुको भनाइ छ। यस साता चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। साताको अन्तिम दिन चाँदीको मूल्य प्रतितोला २ हजार १५० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो। यस अघि चाँदीको रेकर्ड २ हजार १३५ रुपैयाँ थियो।