free website hit counter

एनआईसी एशियाले ६ महिनामा कमायो २ अर्ब ६ करोड खुद नाफा

beemaadmin
२०७७ माघ १५, बिहीबार

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सामान्य सुधार भएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ करोड ४३ लाख रुपैयाँ अर्थात २।१९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी सामान्य बढेसँगै खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८१ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९ करोड ९३ लाख रुपैयाँ बढेर ३ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १३ करोड ४९ लाख रुपैयाँ बढेर ३ अर्ब ३ करोड ८१ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको फि तथा कमिशन आम्दानीमा उल्लेख्य गिरावट आएपछि खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा बढ्न नसकेको देखिन्छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ४० करोड रुपैयाँ फि तथा कमिशन आम्दानी गरेको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९३ करोड ५६ लाख रुपैयाँमात्र यस्तो आम्दानी गरेको छ।
पुस मसान्तसम्ममा ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ८९ करोड २८ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा ७७ करोड ६६ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ५ अर्ब ५४ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ थियो।
पछिल्लो ६ महिनामा बैंकको निक्षेप २ खर्ब १ अर्ब ६३ करोड रुपैयाँबाट बढेर २ खर्ब ६८ अर्ब १० करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब ६० अर्ब १८ करोड रुपैयाँबाट बढेर २ खर्ब २१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।
कर्जा लगानी बढाएपनि बैंकको निष्क्रिय कर्जामा भने सामान्य गिरावट देखिएको छ।

सम्बन्धित समाचार