काठमाडौं । सबैजसो वित्तीय संस्थमा कार्यरत कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा जान मानिरहेका छैनन् । नेपाल सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया बैंक कर्मचारी संघले उक्त योजनाको विरोध गर्दै प्रदर्शन गरेको छ । संघले १८ गते देशैभरी एनआईसी एशिया बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा विभिन्न मागहरु राख्दै विरोध प्रदर्शन गरेको छ ।
एनआईसी एशिया बैंक कर्मचारी संघका अध्यक्ष सुमन थापाले एनआईसी एशिया बैंक कर्मचारी संघ यस योजनामा जाँदैनौ भन्ने नभइ योजनामा भएको विभेदको विरोध गरेको बताए । उनले आफूहरुको बुँदागत माग पुरा नहुँदासम्म विरोध कार्यक्रम जारी राख्ने पनि बताए । सामाजिक सुरक्षा कोष ऐन नियमावली तथा कार्यविधिमा यस अघि नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरूले संयुक्त रुपमा पेश गरेका सुझावहरूको सम्बोधन गर्न संघले सरोकारवालाहरुसँग अपिल गरेको छ । यस योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको हुनाले र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धीहरु समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनामा कदापी संलग्न हुन नसकिने संघले जनाएको छ ।