काठमाडौं । एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभाले ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आज काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको बैंकको २६ औं वार्षिक साधारण सभाद्वारा चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२६३ प्रतिशत लाभांशको प्रस्ताव पारित गरिएको हो । उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७९–८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रूपैयाँ र कर प्रयोजनार्थ १७ करोड ६५ लाख ३ हजार २४० रूपैयाँ समेत गरी कुल ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रूपैयाँ वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । बैंकको २६ औं वार्षिक साधारण सभाले २९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको कुल चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रूपैयाँ पुगेको छ । साथै, सभाले आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।