काठमाडौं । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गर्दै नाफा, खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा उत्साहजनक वृद्धि हासिल गरेको छ।
बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो। यससँगै बैंकको खुद नाफा वार्षिक रूपमा ४०.६० प्रतिशतले वृद्धि भएको हो।
खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ८ अर्ब २ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, शुल्क तथा कमिसन आम्दानी २ अर्ब १४ करोड रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।
सञ्चालन नाफामा पनि सुधार देखिएको छ। अघिल्लो वर्ष ४ अर्ब ७३ करोड रुपैयाँ रहेको सञ्चालन नाफा २९.०६ प्रतिशतले बढेर ६ अर्ब ११ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार आवश्यक कोषमा रकम छुट्याएपछि बैंकको नियामक समायोजन अघिको नाफा २ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ। नियामकीय समायोजन तथा अघिल्लो वर्षको सञ्चित नाफा समावेश गर्दा वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।
अविमोच्य असञ्चिति अग्राधिकार शेयरको लाभांश कट्टा गरेपछि साधारण शेयरधनीका लागि वितरणयोग्य नाफा १ अर्ब ७५ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ। यसअनुसार बैंकको प्रतिशेयर वितरणयोग्य नाफा ९ रुपैयाँ ८ पैसा कायम भएको छ।