काठमाडौं । बैैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई थप सेवा तथा सुविधा दिनेक्रम बढिरहेको छ । एभरेष्ट बैंक लिमिटेडले ग्राहकलाई स्वास्थ्योपचारमा छुट दिन आइएसओएन हेल्थकेयरसँग सम्झौता गरेको छ । ग्राहक र कार्ड होल्डरहरूले आइएसओएन हेल्थकेयरमार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई र टर्कीसहित अन्य देशमा स्वास्थ्योपचार गराउँदा सात प्रतिशतसम्म छुट पाउने एभरेष्ट बैंकले दाबी गरेको छ । सम्झौतापत्रमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइएसओएनका अध्यक्ष विवेक गुप्ताले हस्ताक्षर गरेका हुन् । आइएसओएनका अध्यक्ष गुप्ताले यस सम्झौताबाट बैंकका ग्राहकहरूले आइएसओएनका माध्यमबाट विभिन्न देशमा लिने स्वास्थ्य सेवामा विशेष छुट लिएर लाभान्वित हुनसक्ने बताए ।
उनले विश्वका आइएसओएनका एक हजारभन्दा बढी अस्पताल र २५ सयभन्दा बढी डाक्टरहरूसँग सहकार्य रहेको जानकारी दिए । करिब १२ लाख ग्राहक रहेको एभरेष्ट बैंकले देशभर १०५ वटा शाखा, प्रादेशिक कार्यालय, १३८ एटिएम खोलेको छ ।