काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको आयोजनामा आजदेखि ‘एशियन इन्स्योरेन्स मिट २०२३’ सुरु भएको छ । पहिलो दिन आज नेपाल लगायत भारत, बंगलादेश, श्रीलंक, भुटान, कम्बोडिया, इण्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, चीन, मकाओ, जोर्डन र मलेसिया लगायतका देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरूको सहभागिता रहेको छ । नियामकहरु विच नियमनका विषयमा बृहत छलफल भइरहेको छ । कार्यक्रममा विभिन्न देशका नियामकीय प्रतिनिधिहरुले आ–आफ्नो प्रस्तुतिकरण दिइरहेका छन् । नियामक निकायहरूका काम कारवाही, नयाँ नयाँ जोखिमहरूको व्यवस्थापनका लागि बीमा कम्पनीहरूलाई तयारी अवस्थामा राख्न नियामक निकायहरूले निर्वाह गर्दै आएको भूमिका, नियामक निकायहरूबीचको सम्बन्ध सुदृढीकरण, बीमा व्यवसायको स्वच्छ विकासका लागि नियामक निकायहरूबीचको आपसी सहयोग एवम् साझेदारी अभिवृद्धि, बीमा क्षेत्रलाई सबल, नवीन सोच र जवाफदेही किसिमले अघि बढाउने लगायत विषयमा छलफल भइरहेको छ । सम्मेलनमा जलवायु परिवर्तन, महामारी लगायतका कारण बीमा क्षेत्रमा देखिएका जोखिम, जोखिम न्यूनीकरणका अन्तर्राष्ट्रिय अभ्यास, जोखिम न्युनीकरण सम्बन्धी आपसी अनुभव, जोखिम न्यूनिकरणका लागि क्षमता अभिबृद्धि र बीमा क्षेत्रको भावी गन्तव्य लगायतका विषयमा प्रस्तुतिकरण एवंम छलफल हुने कार्यक्रम रहेको छ । विश्वमा नविनतम विकास सँग सँगै बीमा क्षेत्रमा देखापरेका नयाँ नयाँ जोखिमहरुको पहिचान, जोखिम न्यूनिकरणका लागि प्राविधिक क्षमताको विकास र बीमा क्षेत्रको दिगो विकासका लागि आपसी सहयोग एवं साझेदारी अभिबृद्धि गर्ने उद्देश्यले सम्मेनलन आयोजना गरिएको बीमा प्राधिकरणले जनाएको छ ।