काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०–०८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरिएको जनाएको छ । नयाँ बोनसदरअनुसार ‘सावधिक तथा आजीवन बीमालेख’मा बिमितले बीमा अवधिअनुसार न्यूनतम ६१ रुपियाँदेखि अधिकतम ७५ रुपियाँसम्म प्रतिवर्ष प्रतिहजारका दरले बोनस पाउनेछन् । त्यसैगरी ‘सावधिक जीवन बीमालेख’का बिमितले न्यूनतम ४५ रुपियाँदेखि अधिकतम ६२ रुपियाँसम्म बोनस दिने कम्पनीले घोषणा गरेको छ । त्यसैगरी ‘बालबालिकाको सावधिक जीवन बीमालेख’मा योजनामा न्यूनतम ४२ रुपियाँदेखि ५२ रुपियाँसम्म बोनसदर दिने भएको छ । सामूहिक सावधिक, नवरत्न, जीवन सञ्जीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ, भविष्य निधि बीमालेखका बिमितले प्रतिवर्ष न्यूनतम ४४ रुपियाँदेखि अधिकतम ५५ रुपियाँसम्म प्रतिहजारका दरले बोनस पाउनेछन् । त्यस्तै ‘अग्रीम भुक्तानी सावधिक जीवन बीमालेख’मा बीमा अवधिअनुसार न्यूनतम ५० रुपियाँदेखि अधिकतम ७० रुपियाँसम्म, बाल उच्च शिक्षा बीमालेखमा ४२ रुपियाँदेखि ५० रुपियाँसम्म बोनसदर दिने कम्पनीले जनाएको छ । त्यसैगरी कम्पनीले एशियन सावधिक प्लस, १५ वर्षे अग्रिम भुक्तानी सावधिक प्लस, सुखी जीवन प्लस, वार्षिक भुक्तानी बीमालेखमा रिभर्सनी बोनस ३८ रुपियाँदेखि ५६ रुपियाँसम्म र टर्मिनल बोनस सबै बीमा अवधिमा समान ६ रुपियाँ दिने घोषणा गरेको छ । उल्लिखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालू बीमालेखहरूमा लागू हुने र अर्को बोनसदर घोषणा नभएसम्म यही बोनसदर लागू हुने पनि कम्पनीले जनाएको छ।