free website hit counter

ओलीसँग पराजित अधिकारी भन्छन्– पैसा नहुनेले पनि राजनीति गर्न सक्ने वातावरण बनाउनुपर्छ

beemaadmin
२०७८ मंसिर २३, बिहीबार

काठमाडौं । दुई ठूला कम्युनिष्ट पार्टी एकताका लागि तयार हुँदै चुनावी मैदानमा मोर्चाबन्दी गरेको बखत देश कम्युनिष्टमय भएको बेला झापामा त्यो पनि एमाले केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धाका लागि आफ्नो पेन्सन हुन लागेको प्राध्यापन पेशा छाडेर राजनीतिमा होमिएका डा. खगेन्द्र पाण्डव अधिकारी पूर्णकालीन कार्यकर्ता बनेर नेपाली काँग्रेसको राजनीतिमा होमिएका छन् ।

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका तर्फबाट एमाले अध्यक्ष केपी ओलीलाई काउण्टर दिएका उनै अधिकारी पार्टीभित्रै पनि चुनावी प्रतिस्पर्धा गर्दै राजनीतिको सिढी उक्लँदै छन् । देश कम्युनिष्टमय भएको बेला एमाले अध्यक्ष ओलीसँग २९ हजार २ सय ९७ मतका साथ सम्मानजनक पराजय भोग्न सफल भएका डा. अधिकारी राजनीतिमा अघि बढिरहेका छन् ।

झापाको तत्कालिन क्षेत्र नं ६ बाट महाधिवेशन प्रतिनिधि चुनिए पनि खासै चर्चामा नरहेका डा. अधिकारी जब कांग्रेसलाई झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धाको लागि काँग्रेसभित्र उम्मेदवारको खाँचो पर्यो त्यो खाँचो टार्न चुनावी मैदानमा उत्रिने निर्णय देशभर चर्चाको विषय बन्यो । त्यतिबेला कांग्रेस हेड क्वार्टरकै रोजाईमा अरु नेता पर्थे होलान् चुनावी प्रतिस्पर्धा सहज देखिएको भए । राप्रपाले समेत ओलीलाई नै सघाउने निर्णय गरेको विषम परिस्थितिमा पनि डा. अधिकारी आफ्नो जिम्मेवारीबाट पछि नहटी पार्टीको साख बचाउन मैदानमा डटिरहे ।

आकाश निष्पट भएर आँधिहुरीका सात ठूलो भेलबाढी आउँदैछ भन्ने जान्दाजान्दै बालुवाको बाँध बाँध्छु भनेर तयार हुने साहसीक राजनीतिज्ञ हुन् डा. अधिकारी । कांग्रेसले राजनीतिक रुपमा भन्दा पनि बौद्धिक, प्राज्ञिक तथा स्पष्ट दृष्टिकोण भएको नेताका रुपमा डा. अधिकारीलाई ओलीसँगको चुनावी प्रतिस्पर्धामा उतारेकै कारण त्यस क्षेत्रमा कांग्रेसका मतदाताले काँग्रेसको विकल्प खोज्नु परेन ।

पार्टीप्रति इमान्दार नेता कार्यकर्ताहरुले यो क्षेत्रमा बैचारिक रुपमा फरक मत राख्ने उम्मेदवारलाई मत खसाल्नु पर्ने बाध्यता डा. अधिकारीले टारिदिए । दुई पटक मुलुकको प्रधानमन्त्री तथा दुई पटक पार्टी अध्यक्षको जिम्मेवारी सम्हालिसकेका र एमालेभित्र दर्जन केन्द्रीय सदस्य समेत भएको क्षेत्रमा पार्टीले हैसियत प्रदान गरे कम्युनिष्ट पराजय गर्न कुनै भारी नपर्ने तर्क गर्छन् डा. अधिकारी ।

एकातिर प्रतिस्पर्धी दलको उम्मेदवार हेभीवेट हुनु त्यसमाथि तिनै उम्मेदवार बैचारिक, सैद्धान्तिक रुपमानै फरक तीन वटा पार्टीको संयुक्त उम्मेदवारका रुपमा मैदानमा उत्रिएका बेला डा. अधिकारीका लागि २०७४ को चुनाव पक्कै सहज थिएन । तर कति पनि विचलित नभई डा. अधिकारी ओलीसँगको प्रतिस्पर्धाका लागि आफ्नो तर्क र विचारहरु जनमानसमा राख्दै मतदाताको घरदैलोमा पुगेका थिए । त्रिचन्द्र कलेज काठमाडौंको प्रध्यापन पेशालाई छोडेर डा. अधिकारी उम्मेदवारीका लागि तयार भएबाटै राजनीतिप्रति उनको त्याग, निष्ठा र समर्पण स्पष्ट हुन्छ ।

पाली कांग्रेसको १४औं महाधिवेशनमा सर्वाधिक मतबाट महाधिवेशन प्रतिनिधिमा अनुमोदित डा. अधिकारी पार्टीको आसन्न महाधिवेशनका लागि केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । २०४९ सालमा केन्द्रीय क्याम्पस हात्तिसार धरानमा नेविसंघका सभापति हुँदै नेपाली कांग्रेसको केन्द्रीय अनुसन्धान तथा अभिलेख विभाग सदस्य, केन्द्रीय राज्य प्रशासन विभाग सदस्य र साढे १७ वर्ष त्रिवि प्रध्यापन सेवाको लामो अनुभव बटुलिसकेका डा. अधिकारी सौराष्ट्र युनिभर्सिटीबाट पिएचडी गरेका हुन् । अधिकारी भन्छन्– ‘राजनीति विशुद्ध सेवा हो, पैसा नहुनेले पनि राजनीति गर्नसक्ने वातावरण निर्माण गर्ने मेरो निरन्तरको अभियान हो । यो सम्भव छ, तर तपाईंहरुको दृढ संकल्पको जरुरी छ ।’

उनै अधिकारीले आमचुनावका बेला पनि मतदातालाई ल्वाङ र सुकमेल बाँडी साँकेतिक रुपमा राजनीतिलाई शुद्ध बनाउने अभियान चलाएका थिए । घात अन्तर्घातले थिलथिलो बनेको काँग्रेसलाई यसबाट मुक्त गराउन महासमितिको बैठकको बेला पार्टीको झण्डामा चार ताराभित्रै चुनाव चिन्ह रुखलाई समावेश गर्नुपर्छ भन्ने सुझाव अधिकारीले प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार