काठमाडौं । पक्कै पनि बीमा जीवनकै कल्पना गर्दै निश्चित रकम जम्मा हुनेमा गरिएको हुन्छ । भवितव्य पर्यो भने परिवारको सुरक्षा हुने कुरा त बीमाको सिद्धान्त नै भयो । एक करोड रुपैयाँ जीवन बीमा गरेको एक व्यवसायीको बीमा पोलिसी खरिद गरेको २६ औं दिनमा कोरोना भाइरसबाट निधन भएको छ ।
नवलपरासीमा ब्लक उद्योग सञ्चालन गर्दै आएका ३८ बर्षिय सुवासचन्द्र गिरीले गत साउन ४ गते एलआईसी नेपालमा एक करोड रुपैयाँको जीवन बीमा गरेका थिए । एलआईसी नेपालकी सम्राट एजेन्सी म्यानेजर प्रभा ज्ञवालीमार्फत जीवन बीमा गराएका गिरीले जम्मा एक किस्ता मात्रै भुक्तानी गरेका थिए । उनलाई साउनको अन्तिम साता कोरोना भाइरस पोजेटिभ देखियो र भदौं १ गते मृत्यु भयो ।
उनको मृत्युपछि एजेन्सी म्यानेजरले कागजात पूरा गरी असोज १७ गते एलआईसी नेपालको केन्द्रीय कार्यालयमा फाइल पेश गरेकी थिइन् । एलआईसी नेपाल केन्द्रीय कार्यालयले यही असोज २१ गते नै एक करोड रुपैयाँको चेक जारी गरेको छ । नेपाल एसबीआई बैंकको एक करोड रुपैयाँ चेक मृतकका हकवाला अनिता देवी गिरीलाई भोलि सोमबार एक कार्यक्रम गरी वितरण गर्ने बताइएको छ ।