free website hit counter

करोडौं लगानीमा वातावरण मैत्री इँटा उत्पादन शुरु

beemaadmin
२०७६ मंसिर १४, शनिबार

काठमाडौं । नेपालमै वातावरणमैत्री चाइनिज इटाको उत्पादन सुरु भएको छ । गोर्खा इको रेड ब्रिक्स प्रालिले काभ्रेको बासडोलमा कारखाना स्थापना गरी व्यवसायिक रुपमा इटाको उत्पादन शुरु गरेको हो । उत्पादनको कुनै पनि प्रक्रियाको दौरानमा धुलो नहुने गरी सुरुङ भट्टी (टनेल किल्न) प्रविधिबाट चिनियाँ इँटा उत्पादन गरिएको हो । माटोबाट बन्ने इँटा उत्पादनमा टनेल किल्नको यो प्रविधि सबैभन्दा वातावरणमैत्री र ऊर्जा किफायती मानिन्छ । इँटा उत्पादनमा यो प्रविधि नेपालमा मात्र नभएर दक्षिण एशियामा नै नौलो र अत्याधुनिक रहेको बताइएको छ । यद्यपि युरोपमा १९७० कै दशकमा प्रयोगमा आएको यो प्रविधि १९८० मा चीन भित्रिएको जनाइएको छ ।

कम्पनीका सञ्चालक कृष्णभक्त दुवालका अनुसार उत्पादित इटा बजारमा बिक्री वितरण शुरु भइसकेको छ । आफ्नो उत्पादन देशभर विक्रीवितरण सुरु गर्ने योजना रहेको पनि उनले सुनाए । उद्योगले दैनिक एक लाख गोटा इटा उत्पादन गर्ने क्षमताको रहेको बताइएको छ । इटाको उत्पादनसहित सवै मेशिनरी रहेकोले पाँच छ सय मानिसको सवै काम दुई तीन दर्जन मानिसबाट यति क्षमताको इटा उत्पादन हुने जनाइएको छ । इँटा पार्नेदेखि सवै काम वैज्ञानिक रुपमा मेशिनबाटै हुने गरेको छ ।

यो कम्पनीबाट उत्पादित इटा उत्पादन गर्दा मलिलो खेतीयोग्य माटो नै चाहिन्छ भने छैन । यसले उर्वर जमिनको संरक्षणमा टेवा पुर्याउने कम्पनीको दावी छ । किनकि यो प्रविधिबाट बनाइने इँटामा एक त माटो मात्र प्रयोग हुने छैन  । यस प्रविधिबाट इँटा तयार गर्दा जस्तोसुकै रूखो माटो प्रयोग गर्न सकिने जनाइएको छ । साथै, त्यस्तो माटो पनि यसमा ५० प्रतिशत मात्र लाग्नेछ भने ३० प्रतिशत ढुंगा र बाँकी २० प्रतिशत कोइला यसको कच्चा पदार्थका रूपमा प्रयोग हुने कम्पनीले जनाएको छ ।

लगानीकर्तामध्येका एक दुवालले कम्पनीले इँटा उत्पादनमा प्रयोग गर्ने टनेल किल्न प्रविधि धुलो रहित र यसबाट उत्पादित इँटा पनि वातावरणमैत्री हुने भनाइ राखेका छन् । यस प्रविधिबाट इँटा उत्पादन गर्दा वातावरणमैत्री छ, दुवालले भने । यसमा कच्चा पदार्थ तयार भइसकेपछि काँचो इँटा पनि मेशिनबाटै बनाइनेछ । त्यसरी मेशिनले तयार पारेको काँचो इँटालाई पोल्नुअघि अन्य प्रविधिमा जस्तो घाममा सुकाइराख्नु पनि पर्दैन । इँटा सुकाउनका लागि पनि ‘ड्राई टनेल’ बनाइएको छ । मेशिनबाट तयार काँचो इँटा सोझै उक्त ड्राई टनेलमा जानेछ । त्यसरी सुकाइएको इँटा पकाउनका लागि ड्राई टनेलबाटै ‘फायर टनेल’ मा पठाइनेछ ।

फायर टनेल पनि पूर्ण रूपमा थर्मल इन्सुलेटेड हुने हुँदा ताप खेर नजाने भएकाले इँटा एकनाशले रातो हुनेगरी पाक्ने गर्दछ । इँटा उत्पादन प्रक्रिया यसरी टनेल भित्रभित्रै पूरा हुने भएकाले यसमा बाहिरी वातावरणमा इँटा उत्पादन प्रक्रियाका कारण धूलो सिर्जना हुने सम्भावना शून्य छ ।

गोर्खा चाइनिज इँटा हाल नेपाली बजारमा पाइने गरेको चिनियाँ इँटाबराबरकै आकारमा छन् । तर, त्यसको तुलनामा अझ बढी मजबुत, सबैतिर सीधा आकार मिलेको र स्मुथ फिनिसिङको हुने कम्पनीको दाबी छ ।  कम्पनीले केही दिन अगाडि गराएको वातावरण प्रदूषण परिक्षण पनि मापदण्ड भित्रै रहेको पाइएको छ । वातावरण मैत्री उद्योग स्थापना गरेको कम्पनीले नयाँनयाँ प्रविधि आगामी दिनमा अझै भित्र्याउँदै लाने बताएको छ ।

सम्बन्धित समाचार