free website hit counter

कहाँ कहाँबाट थपिएर पुग्यो ११४ जना संक्रमित

beemaadmin
२०७७ जेष्ठ १४, बुधबार

काठमाडौं । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको पहिचान हुने क्रम बढेको छ । जताततै कोरोनाको सञ्जाल फैलिउको आशंका अब सबैतिरबाट आउन थालेको रिपोर्टले स्पष्ट पारेको छ । नेपालमा थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
देवकोटाका अनुसार धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै सप्तरीका हुन् । यसैगरी कोसी प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै झापाका हुन् ।
यसैगरी हेटौडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ । जसमा मकवानपुरका १ र रौतहटका ७ जना रहेका छन् । यसैगरी पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका ६ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी दाङको राप्तीमा गरिएको परीक्षणमा १८ जनामा पुष्टि भएको छ । जसमा रुकुम पूर्वका ३ जना र दाङका १५ जना रहेका छन् । भेरी अस्पतालमा गरिएको परीक्षणमा पनि १६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै बाँकेका हुन् ।
यसैबीच राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सिरहाका १ जना, सिरहा घर भइ सप्तरी बस्दै आएका १ जना, बाराका ७ जना, रौतहट घर भइ बारामा रहेका १ जना र रौतहटका २८ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।

सम्बन्धित समाचार