free website hit counter

काठमाडौंका ३ सहित ६ दर्जन संक्रमित थपिए

beemaadmin
२०७७ जेष्ठ १२, सोमबार

काठमाडौं । परीक्षणको दायरा फराकिलो पार्दै जाँदा समाजमा लुकेर बसेको कोरोनाको आतंक उजागर हुन थालेको छ । काठमाडौंको टोखा र बुढानिलकण्ठका गरी ३ जनासहित थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म जारी गरेको तथ्याङ्कअनुसार नेपालमा कोरोनाका संक्रमितको संख्या अब ६ सय ७५ पुगेको छ। थपिएका ७२ नयाँ संक्रमितमध्ये एक जना महिला हुन् भने बाँकी सबै पुरुष हुन्। काठमाडौंसहित धनुषा, कपिलवस्तु, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके, दैलेख, बारामा संक्रमित थपिएका हुन्।
आज सार्वजनिक विवरण काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, हेटौडाको किटजन्य रोग अनुसन्धान केन्द्र, नेपालगञ्जको भेरी अस्पताल र सुर्खेतको प्रदेश अस्पतालमा भएको परीक्षणबाट प्राप्त रिपोर्ट हो। संक्रमितहरु १६ वर्ष उमेरदेखि ५३ वर्ष सम्मका छन्।
काठमाडौंको टोखा नगरपालिकाको वडा नम्बर ३ र ६ मा दुई जना संक्रमित भेटिएका हुन्। त्यस्तै बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा एक जना संक्रमित रहेका छन्। धनुषाको नगराइन नगरपालिका ३ मा ३ जना संक्रमित भेटिएका हुन्। कपिलवस्तुको शिवराज नगरपालिकाका वडा नम्बर ४,५ र ६ मा गरी तीन जना संक्रमित थपिएका हुन्। त्यस्तै बाराको कलैया नगरपालिका कोटवाली १ मा दुई जना संक्रमित भेटिएका छन्।
रौतहटको राजपुर फरहदवा २, ६ र ८ तथा इशना २ का गरी २६ जना संक्रमित भेटिएका छन्। सप्तरीको डाक्नेश्वरी गाउँपालिकाका २ जनामा संक्रमण देखिएको छ। त्यस्ते बर्दियाको बासगढी ९ मा एक जनामा संक्रमण देखिएको छ। बाँकेको दुधवा गाउँपालिका २ र राप्ती सोनारी गाउँपालिका ७ का गरी ४ जनामा संक्रमण देखिएको छ। बाराको गढीमाई नगरपालिकामा २१ जना संक्रमित भेटिएका छन्।
दैलेखको नारायण नगरपालिका र डुङ्गेश्वर गाउँपालिकामा गरी ५ जनामा संक्रमण देखिएको छ। संक्रमित एक महिला हुन्। दैलेखकै गुँरास गाउँपालिकामा दुई जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार