काठमाडौं । कोरोना संक्रमित थपिनेक्रम ह्वात्तै बढेकोे छ । लकडाउन खुकुलो बनाएसँगै बढेको चहलपहलले काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
थप २ जनाको ज्यान गयो
संक्रमण बढेसँगै मृतकको संख्या पनि बढेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि ती पुरुष कैलालीकै नवजीवन अस्पतालमा भर्ना भएका थिए । जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनको असार ३ गते बेलुकी निधन भएको हो ।
यस्तै लम्की चुहा नगरपालिकाकी महिलाको टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । जेठ ३१ गते भर्ना भएकी महिलाको असार २ गते सर्जरी गर्नुअघि नमुना संकलन गरिएको थियो । उनको असार २ गते नै मृत्यु भएको प्रवक्ता गौतमले बताए । भेरी अस्पतालमा भएको परीक्षणमा असार ३ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।