काठमाडौं । काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य फेरि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरिएको छ।
नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा ग्यास बिक्री गर्ने सम्पूर्ण उद्योगलाई निगमले तोकेको साविककै मूल्यमा ग्यास बिक्री–वितरण गर्न आग्रह गरेको हो। संघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत २०८३ असोज २ गते शुक्रबारदेखि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन र आफ्ना बिक्रेतालाई समेत सोहीअनुसार जानकारी गराउन निर्देशन दिएको जनाएको छ।
यसअघि भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गको केही खण्ड कटान भएपछि सडक अवरुद्ध भएको थियो। त्यसपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति गर्न उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत ग्यास ल्याउँदै आएका थिए।
वैकल्पिक मार्ग प्रयोग गर्दा बढेको ढुवानी खर्चलाई ध्यानमा राख्दै संघले भदौ १८ गते साविक मूल्य २ हजार ६० रुपैयाँमा १ सय ५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा थप गरी प्रतिसिलिन्डर अधिकतम २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसामा बिक्री गर्न आग्रह गरेको थियो।
तर, अहिले अवरुद्ध सडकखण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएसँगै एलपी ग्यास बोकेका बुलेटहरू काठमाडौं उपत्यका आउन थालेका छन्। वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने अवस्था हटेकाले थप ढुवानी भाडा हटाएर साविककै मूल्य कायम गरिएको संघले जनाएको छ।
संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिमा अब उपत्यकामा एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै बिक्री–वितरण गर्न उद्योग तथा बिक्रेताहरूलाई आग्रह गरिएको छ।