काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आज छात्रवृत्ति परीक्षा सञ्चालन गर्दैछ। बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने परीक्षाका लागि महानगरले ८३ वटा परीक्षा केन्द्र तोकेको छ।
महानगरअन्तर्गतका संस्थागत (निजी) विद्यालयहरूमा प्रदान गरिने छात्रवृत्तिका लागि यस वर्ष २६ हजार ६८० जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। कुल २६ हजार ८८८ जनाले आवेदन दिएकोमा २०८ जनाको आवेदन अस्वीकृत भएको शिक्षा अधिकृत तथा परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिएका छन्।
महानगरपालिकाका अनुसार परीक्षार्थीहरूले आवेदन दिएको अनलाइन प्रणालीमार्फत प्राप्त रङ्गीन प्रवेश पत्र प्रिन्ट गरेर परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ। साथै, प्रवेश पत्रसँगै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। एसईई प्रवेशपत्र, विद्यालय परिचयपत्र वा नागरिकता प्रमाणपत्रमध्ये कुनै एक कागजात स्वीकार गरिनेछ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहको कार्यकालमा निजी विद्यालयहरूमा कक्षा ११ र १२ का लागि छात्रवृत्ति वितरणलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन यो प्रणाली लागू गरिएको हो। महानगरले २०८० सालदेखि नीतिगत रूपमा परीक्षा सञ्चालन गर्दै आएको छ।
यो कार्यक्रम लागू भएयता देशभरका करिब १५ हजार विद्यार्थीले छात्रवृत्तिको अवसर प्राप्त गरिसकेका छन्। गत वर्षको परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए भने १० हजार ८६७ जना उत्तीर्ण भएका थिए। उत्तीर्णमध्ये योग्यताक्रमका आधारमा करिब ४ हजार ५०० विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका थिए।
गत वर्षको तुलनामा यस वर्ष छात्रवृत्ति परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या झण्डै दोब्बर पुगेको महानगरपालिकाले जनाएको छ।