free website hit counter

काभ्रेका वृद्ध दम्पती बेपत्ता प्रकरण : आर्थिक अभाव होइन, स्वास्थ्य समस्याको चिन्ता

beemaadmin
२०८३ श्रावण २५, सोमबार

काठमाडौं। काभ्रेको मण्डनदेउपुर नगरपालिका–७, कुन्ताबेशीका ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली पाँच दिनदेखि बेपत्ता छन्। उनीहरूको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।

गत बुधबार केदारनाथले श्रीमती तिलकुमारीलाई साथमा लिएर भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर आसपास पुगेका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन भएका हुन्। सञ्चारमाध्यममा उनीहरू सुनकोशी नदीमा प्रवेश गरेको खबर आए पनि प्रहरीले अहिलेसम्म त्यसको पुष्टि गर्ने प्रमाण फेला नपरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कविन राईका अनुसार बेपत्ता दम्पतीको खोजी भइरहेको छ। घटनास्थल आसपास सोधपुछ तथा खोजतलास जारी रहे पनि उनीहरू नदीमा प्रवेश गरेको कुनै प्रमाण अहिलेसम्म फेला नपरेको उनको भनाइ छ।

‘सञ्चारमाध्यममा आएजस्तो नदीमा हाम्फालेको प्रमाण हामीले अहिलेसम्म भेटेका छैनौँ। कुनै प्रत्यक्षदर्शीले पनि प्रहरीसमक्ष त्यस्तो जानकारी दिएका छैनन्,’ राईले भने, ‘उहाँहरू बेपत्ता हुनुहुन्छ र खोजी कार्य जारी छ।’

लामो समयदेखि बिरामी श्रीमतीको हेरचाह गर्दै थिए केदारनाथ

तिलकुमारी पछिल्लो करिब दुई वर्षदेखि बोनम्यारोसम्बन्धी क्यान्सरबाट पीडित थिइन्। स्वास्थ्य अवस्था कमजोर भएपछि उनी लामो समयदेखि ओछ्यानमै थिइन्। उनको उपचार तथा दैनिक हेरचाहमा केदारनाथले मुख्य भूमिका निर्वाह गर्दै आएका थिए।

परिवारका सदस्यहरू आ–आफ्नो काममा व्यस्त रहने भएकाले तिलकुमारीलाई अस्पताल लैजानेदेखि उपचारका क्रममा आवश्यक हेरचाह गर्ने काम पनि केदारनाथले नै गर्दै आएका थिए।

यसैबीच केदारनाथ स्वयं पनि स्वास्थ्य समस्याबाट पीडित भए। पिसाबसम्बन्धी समस्या देखिएपछि उनले छोरीलाई जानकारी गराएका थिए। परिवारको सल्लाहअनुसार धुलिखेल अस्पतालमा परीक्षण गराउँदा चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए।

तर आफू पनि उपचारका लागि अस्पताल जानुपर्ने र श्रीमतीको हेरचाह कसले गर्ने भन्ने चिन्ताले उनी तनावमा रहेको परिवारका सदस्यहरू बताउँछन्।

केदारनाथका भतिजा कृष्ण पराजुलीका अनुसार पछिल्लो समय उनको सबैभन्दा ठूलो चिन्ता आफू उपचारका लागि अस्पताल गएपछि श्रीमतीको हेरचाह कसले गर्ने भन्ने थियो।

‘उहाँलाई आर्थिक समस्या थिएन। आफू पनि थला परेपछि श्रीमतीलाई कसले स्याहार्ला भन्ने पीरले उहाँ मानसिक रूपमा निकै चिन्तित हुनुहुन्थ्यो,’ कृष्णले भने।

आर्थिक अवस्था कमजोर थिएन

घटनालाई कतिपयले आर्थिक अभावसँग जोडेर हेरे पनि परिवार तथा स्थानीय जनप्रतिनिधिले भने उपचारका लागि आर्थिक समस्या नरहेको बताएका छन्।

परिवारका छिमेकीसमेत रहेका मण्डनदेउपुर–७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार पराजुली परिवारको आर्थिक अवस्था राम्रो थियो। परिवारसँग पर्याप्त जग्गाजमिन रहेको र उपचारमा आवश्यक खर्च जुटाउन समस्या नरहेको उनले बताए।

तिलकुमारीको उपचारका लागि गाउँपालिकाले समेत आर्थिक सहयोग गरेको थियो। परिवारका सदस्यहरू पनि उपचारका लागि निरन्तर प्रयासरत थिए। आवश्यक परे जग्गा बेचेरै भए पनि उपचार गर्ने तयारी परिवारको रहेको पौडेलले बताए।

उपचारबाट अपेक्षित सुधार नभएपछि तिलकुमारीलाई अस्पतालबाट घर ल्याइएको थियो। त्यसपछि उनको स्वास्थ्य अवस्था तथा भविष्यलाई लिएर केदारनाथ थप निराश देखिएको परिवारका सदस्यहरू बताउँछन्।

ट्याक्सी चढेर दुलालेश्वर पुगेका थिए

घटनाको दिन पनि केदारनाथले घरमै श्रीमतीको हेरचाह गरेका थिए। साँझतिर छोरा–बुहारी घरमा नभएको समयमा उनले चिनजानका ट्याक्सी चालकलाई बोलाएर श्रीमतीलाई अस्पताल लैजाने बताएका थिए।

परिवारका सदस्यहरूले अस्पताल लैजान लागेको ठाने पनि उनले बीच बाटोमा धुलिखेल अस्पताल नजाने र दोलालघाटतर्फ चिनजानका धामीलाई देखाउने भन्दै दुलालेश्वर मन्दिर नजिक ओर्लिएको ट्याक्सी चालकले परिवारलाई जानकारी दिएका थिए।

त्यसपछि केदारनाथले श्रीमतीलाई साथमा लिएर पैदल हिँडेको दृश्य स्थानीय क्षेत्रको सीसीटीभीमा देखिएको बताइएको छ।

छोरा दीपक घर फर्किँदा आमाबुबा नभेटिएपछि परिवारले खोजी सुरु गरेको थियो। ट्याक्सी चालकसँग सम्पर्क गरेपछि उनीहरू दुलालेश्वरतर्फ गएको खुलेको थियो। त्यसपछि परिवारले प्रहरीलाई जानकारी गराएको हो।

स्थानीयस्तरमा वृद्ध दम्पती नदीतर्फ गएको चर्चा चले पनि उनीहरूको वास्तविक अवस्था अझै पत्ता लाग्न सकेको छैन।

परिवार स्वास्थ्य समस्याकै कारण घटना भएको हुनसक्ने आशंकामा

वडाध्यक्ष पौडेलका अनुसार पराजुली परिवारमा कुनै ठूलो पारिवारिक विवाद वा आर्थिक संकट थिएन। लामो समयदेखि श्रीमतीको गम्भीर स्वास्थ्य समस्या र आफूलाई समेत उपचार आवश्यक परेपछि उत्पन्न मानसिक दबाब घटनाको पृष्ठभूमि हुनसक्ने स्थानीयको अनुमान छ।

तर वृद्ध दम्पतीले के सोचेर घर छाडे वा उनीहरू अहिले कहाँ छन् भन्ने विषयमा कुनै निष्कर्षमा पुग्न नसकिने प्रहरीको भनाइ छ।

प्रहरीले बेपत्ता दम्पतीको खोजी कार्यलाई निरन्तरता दिइरहेको छ। घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको र हालसम्म उनीहरू नदीमा प्रवेश गरेको पुष्टि हुने प्रमाण नभेटिएको प्रहरीले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार