काठमाडौं । रोकिएको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक र नगरसभा बोलाउन नगर प्रमुख वालेन शाहले पहल थालेका छन् । उपमेयर सुनीता डंगोल र तीन पार्टीबाट निर्वाचित तीन वडाअध्यक्षसँग नगर प्रमुख शाहले छलफल गरेको थाहा भएको छ । छलफलमा महानगरका प्रवक्तासमेत रहेका कांग्रेसबाट निर्वाचित १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धर एमालेबाट निर्वाचित ३२ नम्बरका वडाध्यक्ष नवराज पराजुली र नेकपा एसबाट निर्वाचित १५ नम्बरका वडाध्यक्ष ईश्वरमान डंगोलको सहभागिता रहेको थियो । बैठकमा बालेनले मिलेर अगाडि बढ्ने प्रस्ताव गरेको एक सहभागीले बताए । चाँडै कार्यपालिका बैठक र नगरसभा डाक्न उनी सहमत भएका छन् । यसका लागि एजेन्डाहरू तय गर्ने विषयमा छलफल भएको थियो । छलफललाई निरन्तरता दिने बताइएको छ । काठमाडौं महानगर कार्यपालिकाको बैठक पुस १४ गतेयता बस्न सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा उत्पन्न विवादमा बालेन एकातिर र उपमेयरसहित सबैजसो कार्यपालिका सदस्यहरू अर्कोतिर भएका थिए । कर्मचारीहरुको समेत साथ नपाएका बालेनले जनप्रनिधिहरुलाई विश्वासमा लिने कोशिष थालेका हुन् । वडाध्यक्षहरू सहितको बैठक करिब ४ घन्टासम्म चलेको बताइएको छ । उक्त बैठक अपरान्ह ४ बजेतिर सकिएपछि फेरि मेयर साह र उपमेयर डंगोलबीच बेग्लै छलफल भएको थियो । मेयर र उपमेयरबीच करिब अढाइ महिनादेखिको संवादहिनता हिजो तोडिएको महानगर स्रोतले बतायो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई मेयर बालेनले भ्रष्टाचार आरोप लगाउँदै निलम्बनमा राखेदेखि काठमाडौं महानगरभित्र टकराव सुरू भएको थियो । सो प्रकरणमा बालेन पूर्णरूपमा एक्लिएका थिए । जनप्रतिनिधि र कर्मचारीसमेतको प्रयासमा प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेश गराइएको थियो । सो घटनापछि मेयर र उपमेयरबीचको सम्बन्ध बिग्रियो । प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा प्रवेश गराउन उपमेयर डंगोलले सक्रिय भूमिका खेलेपछि बालेन उनीसँग असन्तुष्ट बनेका थिए । कार्यालयमा फिर्ता भएका गुरागाइईंसँग बालेनले अहिलेसम्म भेटघाट र बोलचालै गरेका छैनन् । उपमेयर र प्रशासकीय अधिकृतसँग मेयरको संवादहिनताले गर्दा काठमाडौं महानगर अस्तव्यस्त बनिरहेको छ । आउँदो १५ असारमा ल्याउनुपर्ने वार्षिक बजेटका लागि अहिलेसम्म कुनै छलफल थालिएको छैन । कार्यपालिका बैठक बस्न नसक्दा नीतिगतरूपमा निर्णय हुनुपर्ने विषय असरल्ल छन् । अब भने कार्यपालिका र नगरसभा बसेर निर्धारित समयमा बजेट आउनेमा महानगरका जनप्रतिनिधिहरू आशावादी देखिएका छन् ।