काठमाडौं । सुनको भाउ एकपछि अर्को गर्दै नयाँ नयाँ कीर्तिमान कायम गर्दै अघि बढेको छ । शुकब्रार नेपाली बजारमा सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको अन्तिम दिन, सुनको मूल्य ह्वात्तै बढेर तोलाको एक लाख ७४ हजार ५०० रूपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको हो । यो साता सुनको भाउमा बढोत्तरी भएको छ । साताको पहिलो दिन प्रतितोला एक लाख ७० हजार ३०० रूपैयाँ तोकिएको थियो । सोमबार सुनको मूल्य बढेर प्रतितोला एक लाख ७० हजार ४०० रूपैयाँ पुगेपनि मंगलबार भने घटेर एक लाख ६९ हजार ९०० रूपैयाँमा झर्यो । त्यसपछि भने बुधबार सुनको मूल्य पुनः महंगिएर एक लाख ७० हजार ५०० रूपैयाँ पुग्यो । बिहीबार होलीको दिनमा भने सार्वजनिक विदा भएकाले नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य अपडेट गरेको थिएन । तर, शुक्रबार भने सुनको मूल्यमा भारी वृद्धि भयो । यस दिन सुन तोलामा नै ४ हजार रूपैयाँले बढेर तोलाको एक लाख ७४ हजार ५०० रूपैयाँ पुगेको हो । यो मुल्य साताको पहिलो दिनको तुलनामा ४ हजार २०० रूपैयाँ बढी हो। यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार तोलाको एक हजार ९८५ रूपैयाँ रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन प्रतितोला २ हजार ५० रूपैयाँ कायम भयो । यसरी, साताभरमा चाँदी तोलामा ६५ रूपैयाँले वृद्धि भएको हो ।
रूसी राष्ट्रपति पुटिनले युद्धविराम गर्न विभिन्न सर्त राखेसँगै रसिया र युक्रेनबीचको युद्ध अनिश्चित हुँदा अन्तरराष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मुल्यमा बृद्धि भएको विश्लेषकहरूको भनाई छ । बिहीबार सुन प्रतिअउन्स ८० डलर बराबरले बढेर ३ हजार डलर माथि पुगेको थियो । शुक्रबार सुन प्रतिअउन्स २ हजार ९९७ डलर बराबरमा पुग्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्म सुन्दर बज्राचार्यका अनुसार विश्व बजारमा सुनको भाउमा तिव्र वृद्धि भएका कारण नेपाली बजारमा पनि यसको प्रभाव परेको हो । जसकारण लगानीकर्ताहरूमा अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा युद्धले ठुलो रूप लिने हो कि भन्ने चिन्ता देखिएको छ । यसरी, त्रासका बीचमा लगानीकर्ताहरूले सरक्षित लगानीको रूपमा सुन माथि लगानी गरेको उनको भनाइ छ । सोहि अनुरूप सुनको भाउ महंगिएको हो । सुनको भाउ अझै माथि जान सक्ने महासंघका उपाध्यक्ष बज्राचार्यले अनुमान गरेका छन् । उपाध्यक्ष बज्राचार्यले नेपाली बजारमा सुनको भाउ तोलाको २ लाख रूपैयाँ पुग्ने सम्भावना बलियो रहेको बताउँछन् । यतिबेला नेपाली सुन बजार सुनसान रहेको व्यवसायीहरू गुनासो गर्छन्। सुन महंगिएका कारण सुन बजारमा सुन किन्ने ग्राहकमा निकै कमी आएको उनीहरूको भनाइ छ ।