काठमाडौं । झन पछि झन् आफ्नै मूल्यको रेकर्ड ब्रेक गर्दै अघि बढेको सुनको मूल्यले दुई लाखको नेटो पनि पार गरेको छ । यस साता सुनको मूल्यले नयाँ रेकर्ड बनायो । भने चाँदीको मूल्य पनि उच्च विन्दुमा कारोबार भएको छ। यस साताको अन्तिम दिन अर्थात भदौ १३ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो। सो दिन सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो। यस अघि सुनको उच्च मूल्य १ लाख ९९ हजार ४०० रुपैयाँ थियो। अघिल्लो रेकर्डमूल्यको तुलनामा सो दिनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ बढेको हो। यस साताको पहिलो दिन अर्थात आइतबार प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन, अन्तिम दिनसम्म आइपुग्दा तोलामा ३ हजार १०० रुपैयाँ बढेको हो। अमेरिकी बैंक फेडेरल रिजर्भको ब्याजदर घटाउने संकेत, अमेरिकी डलरसँग भारतिय रुपियाँ कमजोर रहनु, साथै चीन, भारत र टर्की लगायतका देशहरुले डलर सञ्चितिको सट्टामा सुन सञ्चिततिलाई जोड दिँदा सुन र चाँदीको भाउ नेपाली बजारमा उच्च रहन पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले बताएको छ। यो साता चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। गत साउन १० गते तोलाको २ हजार ३६० रुपैयाँ पुगेर रेकर्ड बनाएको चाँदी, शुक्रबार पनि सोही मूल्यमा कारोेबार भएको थियो। आइतबारको तुलनामा भने शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो।