काठमाडौं । देशैभर कोरोना आतंक बढेको छ । राजधानीबाहिर संक्रमितको चाप बढे पनि संघीय राजधानी काठमाडौंमा भने जम्मा १३ जना संक्रमित उपचाररत छन् ? टेकु अस्पतालमा ५ जना, पाटन अस्पतालमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना र बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको सम्बन्धित अस्पतालका अधिकारीहरुले जनाएका छन् । त्रिवि शिक्षण अस्पतालमा कपिलवस्तुकी ६ वर्षकी बालिका र शिक्षण अस्पतालकै एक कर्मचारीको उपचार भइरहेको त्यहाँका चिकित्सक डा। सन्तकुमार दासले जानकारी दिए । दाङ घर भएका शिक्षण अस्पतालका कर्मचारीमा शुक्रबार संक्रमण देखिएको थियो । एपीएफ अस्पतालमा दहचोकका ७ वर्षका बालक र अस्पतालमै कार्यरत कर्मचारी उपचाररत रहेका त्यहाँका चिकित्सक डा. महेन्द्रराज श्रेष्ठले बताएका छन् । पछिल्लो समय काठमाडौंको चन्द्रागिरि नगरपालिका र भक्तपुरको मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकामा कोरोना संक्रमित भेटिएका थिए ।