काठमाडौँ । नेपाल सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यविधि अनुसार कृषि विकास बैंकले २५०० भन्दा बढी कृषकलाई ५ अर्ब ५८ करोड रुपैंया ऋण प्रवाह गरेको छ ।
बैंकको ५३ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै बैङ्कले प्रदेश कृषि मन्त्रालय, ग्रामीण पद्दति केन्द्र, हेफर इन्टरनेशनल, किसान महासंघ, युवा परिषद् लगायतसँग सहकार्यमा त्यस्तो कर्जा प्रवाह गरेको जनाएको हो । बैंकले कुल कर्जा प्रवाहमध्ये १ करोड भन्दा बढी रकमको कर्जाको हिस्सा १ प्रतिशत रहेको तर १० लाखभन्दा कम कर्जाको हिस्सा ८० प्रतिशत रहेको जनाउँदै बैंकले आफू ग्रामीण भेगका जनतामा समर्पित रहेको समेत बताएको छ ।
कृषि विकास बैंकको पुस मसान्तसम्म १२७ अर्ब १३ करोड रुपैंया निक्षेप संकलन गरी ११७ अर्ब ७७ करोड कर्जा प्रवाह गर्दा १ अर्ब ७४ करोड खुद नाफा कमाएको जनाएको छ । बैंकको निष्क्रिय कर्जा ४ अर्ब २३ छ । यो कुल कर्जाको ३.५९ प्रतिशत हो । अघिल्लो वर्षको तुलनामा यो अनुपात ०.८२ प्रतिशत कम हो ।